
पोखरा । रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना हुन लागेको ‘१०औँ पोखरा स्पोर्ट्स अवार्ड’ मा अन्तर्राष्ट्रिय खेलकुद ब्राण्ड केल्मी नेपाल सह-प्रायोजकका रूपमा जोडिएको छ। नेपालका लागि केल्मीको आधिकारिक विक्रेता केल्मी नेपाल र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच शनिबार एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र मञ्चका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रममा बोल्दै केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले पर्यटकीय राजधानी पोखरामा आयोजना हुने यस प्रतिष्ठित अवार्डमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
उनले केल्मीले नेपाली फुटबल, फुटसल र अन्य खेल सामग्रीमार्फत खेलाडी र क्लबहरूलाई साथ दिँदै आएको र यस अवार्डले गण्डकीका खेलाडीको मनोबल बढाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, मञ्चका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीसँगको सहकार्यले अवार्डको गरिमा थप बढेको भन्दै आभार प्रकट गरे ।
आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने यस अवार्ड समारोहमा विभिन्न ८ विधामा पुरस्कार प्रदान गरिनेछ:
१. लाइफटाइम एचिभमेन्ट अवार्ड
२. वर्ष उत्कृष्ट खेलाडी (पुरुष)
३. वर्ष उत्कृष्ट खेलाडी (महिला)
४. वर्ष उत्कृष्ट प्रशिक्षक
५. वर्ष उदीयमान खेलाडी
६. वर्ष उत्कृष्ट खेल संघ/संस्था
७. पिपुल्स च्वाइस अवार्ड (जसमा गुरुङ गहना घरले स्कुटर प्रायोजन गरेको छ)
८. वर्ष उत्कृष्ट खेल पत्रकार
अवार्डलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् लगायत विभिन्न स्थानीय तह र संघ-संस्थाहरूले सहयोग गरेका छन्।
यस्तै, सहारा क्लब, टाइगर ग्रुप अफ पोखरा र विदेशमा रहेका खेलप्रेमी नेपालीहरूबाट पनि सहयोगी हातहरू जुट्ने क्रम जारी रहेको मञ्चले जनाएको छ।
