
पोखरा । पोखरा विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ्गको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा सञ्चालित दुई दिने ‘क्षमता विकास तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ। स्कुल अफ इन्जिनियरिङ्गको हलमा आयोजित उक्त तालिम वैशाख ३ र ४ गते सञ्चालन भएको थियो।
तालिमको उद्घाटन सत्रमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसी, रजिस्ट्रार सह-प्राध्यापक डा. अजय थापा, विज्ञान तथा प्रविधि संकायका डीन सह-प्राध्यापक इन्जिनियर बुद्धिराज जोशी, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारी र इन्जिनियरिङ्ग संकायका निर्देशक प्रा.डा. विनय कुमार मिश्रको विशिष्ट उपस्थिति रहेको थियो। सो अवसरमा वक्ताहरूले यस्ता तालिमले संस्थागत कार्यसम्पादनमा सुधार ल्याउने, शैक्षिक तथा प्रशासनिक कार्यबीच समन्वय मजबुत बनाउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
अनुभवी विशेषज्ञहरूद्वारा सञ्चालित अन्तरक्रियात्मक सत्रहरूमा विभिन्न महत्वपूर्ण विषयमा प्रशिक्षण दिइएको थियो । टोलमाया थापाले शैक्षिक र प्रशासनिक कार्यबीचको अन्तरसम्बन्ध, इन्जिनियर मनोज पौडेलले जिन्सी व्यवस्थापन, लिलामीरबिक्री प्रक्रिया, कार्यसम्पादन मूल्यांकन र शैक्षिक भ्रमण व्यवस्थापन, केशव राज ढकाल (पूर्व सहसचिव) ले लेखापरीक्षण र बेरुजु व्यवस्थापन, इन्जिनियर नवीन गौतमले सार्वजनिक खरिद प्रक्रिया तथा सुरेन्द्र बाबु तिवारीले समावेशी सञ्चार तालिमको अन्तिम दिन आर्ट अफ लिभिङ फाउन्डेसनको टोलीद्वारा योग तथा तनाव व्यवस्थापन कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
तालिममा विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ्ग संकाय, डेभलपमेन्ट तथा सामाजिक इन्जिनियरिङ्ग संकाय र विज्ञान तथा प्रविधि संकायका कार्यक्रम संयोजक तथा कर्मचारी गरी ३० भन्दा बढीको सहभागिता रहेको थियो। समापन समारोहमा सहभागीहरूलाई निर्देशक प्रा.डा. विनय कुमार मिश्र र कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन इन्जिनियरिङ संकायका उपप्रध्यापक इन्जिनियर सञ्जय बरालले गरेका थिए। सहभागीहरूले तालिम अत्यन्तै व्यावहारिक र कार्यदक्षता बढाउन सहयोगी रहेको प्रतिक्रिया दिएका छन्।
