१० औं पोखरा स्पोर्ट्स अवार्डका लागि सहारा क्लबको साथ, उदीयमान खेलाडी विधालाई सहयोग

Share:

पोखरा । पोखराको प्रतिष्ठित खेलकुद संस्था सहारा क्लब पोखराले १० औं पोखरा स्पोर्ट्स अवार्ड २०८३ लाई आफ्नो सहयोग निरन्तर दिने भएको छ। विगतका वर्षहरूमा जस्तै यसपटक पनि क्लबले अवार्डको वर्ष उदीयमान खेलाडी विधाको पुरस्कार राशि प्रायोजन गर्ने गरी सम्झौता गरेको हो।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा अवार्डको १० औं संस्करण आयोजना हुँदैछ। शुक्रबार आयोजित एक कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता पछि बोल्दै सहारा क्लबका अध्यक्ष थापाले मञ्चले खेलाडीको प्रोत्साहनका लागि सुरु गरेको यस अभियानमा क्लबले सुरुवाती चरणदेखि नै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। मञ्चका अध्यक्ष एमबी आस्थाले पोखरेली फुटबलको इतिहास बोकेको सहारा क्लब अवार्डसँग जोडिनु गौरवको विषय भएको बताए।

यस वर्षको अवार्डमा विभिन्न ८ विधामा खेलाडी तथा खेलकर्मीहरूलाई सम्मानित गरिनेछ । लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष/महिला), वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघरसंस्था पिपुल्स च्वाइस अवार्ड स्कुटर प्रायोजन गुरुङ गहना घर तथा वर्ष उत्कृष्ट खेल पत्रकार छन् ।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायतका विभिन्न पालिका र व्यावसायिक संघसंस्थाहरूले सहयोग गरिरहेका छन्।

त्यस्तै देश तथा विदेशमा रहेका खेलप्रेमी र पूर्व खेलाडीहरूले पनि व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग उपलब्ध गराइरहेका छन्। पोखरा स्पोर्ट्स अवार्डलाई सम्पन्न गर्न अन्य सहयोगी हातहरू जुट्ने क्रम जारी रहेको आयोजक मञ्चले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: