
पोखरा। घाचोक-माछापुच्छ्रे पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ। पोखरामा आयोजित एक विशेष समारोहका बीच समाजले प्रकाशन गरेको वि.सं. २०८३ को भित्तेपात्रो सार्वजनिक गरिएको हो।
सोही अवसरमा निवृत्त राष्ट्रसेवक समाज माछापुच्छ्रे गाउँपालिका समितिले तयार पारेको भित्तेपात्रोको समेत संयुक्त रूपमा लोकार्पण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले मानिस जहाँ रहे पनि आफ्नो जन्मथलो, रितीथिति र परम्परालाई भुल्न नहुने बताए।
‘आफ्नो जन्मभूमिप्रतिको दायित्व सधैं रहन्छ, समाजले आफ्ना सदस्यहरूको सुख-दुःखमा सधैँ साथ दिनुपर्छ,’ उनले भने । सांसद गुरुङले सामाजिक संस्थाहरूमा राजनीति हाबी हुन नहुनेमा जोड दिँदै भने, ‘सामाजिक संस्थाले राजनीतिक मुद्दा र जनचासोका विषय उठाउने हो, तर कुनै राजनीतिक दलको झोला बोक्नु हुँदैन।’
उनले नयाँ वर्षमा देशमा सुशासन र समृद्धि कायम हुने तथा नयाँ पुस्ताका मागहरू पूरा हुने विश्वास समेत व्यक्त गरे। समाजका अध्यक्ष तोयनाथ लम्साल (बैरागी) ले स्थापनाको छोटो समयमै समाजले थुप्रै सृजनशील कामहरू गरेको उल्लेख गरे। सबै सदस्यहरूको व्यस्तताका बाबजुद समाजलाई समय दिएर कार्ययोजना अनुसार अघि बढिरहेको उनको भनाइ थियो।
कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज कास्कीका इन्चार्ज पूर्ण गिरी, अध्यक्ष हरिचन्द्र गौतम, वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ र सल्लाहकार मिनप्रसाद लम्साल लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै समाजका गतिविधिलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए।
समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव जगत गुरुङले गरेका थिए। कार्यक्रममा माछापुच्छ्रे-३ का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्साल, समाजका सल्लाहकार मिनराज लम्साल, पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
