५ करोडको कारोबार गर्दै हेमजा आलु महोत्सव समापन, ३६ लाखको आलु बिक्री

Share:

पोखरा । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ आयोजित १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार समापन भएको छ। गत चैत २७ गतेदेखि सुरु भएको महोत्सवले ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्न सफल भएको छ।

आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार महोत्सव अवधिभर ३६ लाख रुपैयाँ बराबरको आलु बिक्री भएको छ। महोत्सवमा कृषितर्फका ३० र अन्य व्यापारिक गरी १०० भन्दा बढी स्टलहरू रहेका थिए। ११ दिनसम्म चलेको महोत्सवलाई करिब १ लाख दर्शकले अवलोकन गरेका छन्।

महोत्सव समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले हेमजाको आलु महोत्सव अब पोखराकै गौरव र ब्रान्ड बनेको बताए। उनले महानगरले पर्यटन र कृषिलाई सँगसँगै जोडेर लैजाने नीति लिएको उल्लेख गर्दै यस्ता मेलाले कृषकहरूलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले महोत्सवका माध्यमबाट बजारको पैसा सिधै कृषकको हातमा पुगेको बताउँदै हेमजालाई तरकारी र मौरी पालनको विशेष क्षेत्र बनाउन महानगर लागिपरेको जानकारी दिए।

महोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो। सहनशील दिदीबहिनी समूह (प्रथम), कमलजौंसी आमा समूह (द्वितीय र गौरीशंकर आमा समूह (तृतीय), नेवा खलः (प्रथम), मातृकेश्वर एकता भजन समूह (द्वितीय) र आराध्या भजन समूह (तेस्रो), चापाघाट आमा समूह (प्रथम), देवीस्थान आमा समूह (दोस्रो) र लालीगुराँस आमा समूह (तेस्रो) तथा जनकल्याण आमा समूहले उत्कृष्टता हासिल गर्दै खसी पुरस्कार जित्न सफल भयो।

महोत्सवको अन्तिम दिन शनिबार चर्चित कलाकार प्रकाश सपुतको विशेष प्रस्तुति रहेको थियो। साथै प्रेमराज अधिकारी, नेत्र खड्का, सीता परियार, ममता तामाङ लगायतका कलाकारहरूले पनि दर्शकलाई मनोरञ्जन गराएका थिए।

यस वर्ष आलु खरिदका लागि कास्कीका छिमेकी पालिकाहरू अन्नपूर्ण र माछापुच्छ्रेका साथै स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बागलुङ, सुनसरी र रूपन्देहीसम्मका मानिसहरू हेमजा पुगेका थिए। महोत्सवमा निर्माण गरिएको ुआलुको पहाडु र आलुका विभिन्न परिकारहरू दर्शकका लागि मुख्य आकर्षण बनेका थिए।

कमेन्ट गर्नुहोस्
Share: