पोखरा चेम्बर अफ कमर्सको रक्तदानमा ३१ युनिट रगत संकलन

Share:

पोखरा । पोखरा चेम्बर अफ कमर्स सेन्टर युनिट कास्कीले शनिबार खुला रक्तदान कार्यक्रम गरेको छ । पोखराको पृथ्वीचोकमा भएको कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको छ ।

चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले पहिलो रक्तदाता बोधराज सुवेदीलाई ब्लडव्याग हस्तान्तररण गरेर कार्यक्रमको उद्घाटन गरे । उनले नेपालको निजी क्षेत्रको जेठो संस्थाले सबै निजी क्षेत्रलाई समेटेर काम गरेको जानकारी दिए ।

सबैभन्दा ठूलो मानवीय काम रक्तदान भएको उल्लेख गर्दै उनले विगतमा पोखरामा भएको रगत अभावलाई कम गर्न चेम्बरले घुम्ति रक्तदान गरेको स्मरण गरे ।

‘चेम्बरले उद्योगी व्यवसायीको हक हितको अलवा संस्थागत सामाजिक उत्तरदायित्वको काम गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रको समस्या समाधानको लागि संस्थागत रुपमा पहल गरिएको छ ।’ उनले जुन सुकै राजनीतिक आन्दोलनको तारो निजी क्षेत्र परेको गुनासो राखे ।

उनले लगानीको वातावरण निर्माण गर्न र निजी क्षेत्रलाई शान्ति सुरक्षाको वातावरण बनाउन सरकार समक्ष माग गरे । कोभिड १९ले उद्योग तथा व्यवसायको क्षेत्रमा प्रतिकुल प्रभाव परेको उल्लेख गर्दै उनले राहत तथा सहुलियतको लागि प्रयास गर्ने बताए ।

प्रादेशिक रक्त सञ्चार सेवा पोखराका इञ्चार्ज अर्जुन ज्ञवालीले रक्तदान स्वस्थ नागरिकको सूचक भएको जानकारी दिए । उनले हरेक स्वस्थ नागरिकले प्रत्येक ३ महिनामा रक्तदान गर्न सक्ने उल्लेख गरे ।

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख विक्रम आमात्य, चेम्बर अफ कमर्स कास्कीका महासचिव गोकर्ण अधिकारी, कोषाध्यक्ष जीवन ढुंगाना, महिला चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष जमुना पौडेल, कार्यसमितिका सदस्यहरु श्रीराम गौतम र गोविन्द खड्का, सेन्टर युनिटका अध्यक्ष शम्भु अधिकारी, कार्यक्रम संयोजक सपना पौडेल लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: