
पोखरा । नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा स्पोर्टस अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा तथा रारा तयारी चाउचाउको टाइटल प्रायोजनमा आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १०औँ संस्करणको अवार्ड कार्यक्रमका लागि मञ्चले आफ्नो सहयोग कायम राखेको हो।
भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव समापन, आजीवन सदस्य पुनर्मिलन समारोह तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण कार्यक्रमको अवसरमा मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरलाई सहयोग रकम हस्तान्तरण गरे। सो अवसरमा अध्यक्ष गुरुङले विगतदेखि नै पोखरा स्पोर्टस अवार्डलाई सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटक पनि निरन्तरता दिएको बताए। उनले खेलकुद पत्रकारहरूको पहलमा खेलाडी, प्रशिक्षक, रेफ्री र पत्रकारलाई समेटेर आयोजना गरिने यस्तो कार्यक्रमले खेलकुद क्षेत्रलाई थप सक्रिय र चलायमान बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले अवार्डलाई भव्य र सभ्य बनाउन विभिन्न संघसंस्थाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै भूतपूर्व खेलाडी मञ्चप्रति आभार प्रकट गरे। आगामी कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडी, वर्ष उदियमान खेलाडी, उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार गरी आठ विधामा सम्मान प्रदान गरिनेछ। पिपुल्स च्वाइस अवार्डअन्तर्गत गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको जनाइएको छ।
उक्त अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् काठमाडौं, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौं, होटल क्राउन प्लाजा काठमाडौं, टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाइडलगायत विभिन्न संघसंस्था र स्थानीय तहहरूको विशेष सहयोग रहनेछ। साथै, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग आउने क्रम जारी रहेको आयोजकले जनाएको छ।
