युनाइटेड क्लब पोखराको १६औँ वार्षिकोत्सव विविध सामाजिक कार्यक्रमसहित सम्पन्न

Share:

पोखरा । युनाइटेड क्लब पोखराले आफ्नो १६औँ वार्षिकोत्सव विविध सामाजिक कार्यक्रम आयोजना गर्दै सम्पन्न गरेको छ। वार्षिकोत्सवका अवसरमा क्लबले रक्तदान, छात्रवृत्ति अक्षयकोष स्थापना तथा सिसिटिभी क्यामेरा हस्तान्तरण जस्ता कार्यक्रम सञ्चालन गरेको हो।

क्लबले पोखरा-१५ फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति अक्षयकोष स्थापना गरेको जनाएको छ। कार्यक्रममा बोल्दै वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाँले स्थापना कालदेखि नै क्लब सामाजिक कार्यमा सक्रिय रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले विद्यार्थी लक्षित अक्षयकोष स्थापना गरेकोमा क्लबप्रति आभार व्यक्त गर्दै यसले पठनपाठनमा सकारात्मक प्रभाव पार्ने बताए। उनले क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन तथा सेती नदी संरक्षण लगायतका क्षेत्रमा योगदान दिँदै आएको पनि उल्लेख गरे।

यसै अवसरमा क्लबले जेन्जी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेको कास्की जिल्ला कारागारमा सिसिटिभी क्यामेरा जडान गरी हस्तान्तरण गरेको छ। क्लबका अध्यक्ष लोक बहादुर थापा नेतृत्वको टोलीले कारागारका व्यवस्थापक राजेन्द्र शर्मालाई क्यामेरा हस्तान्तरण गरेको हो। व्यवस्थापक शर्माले कारागारको सुरक्षा र व्यवस्थापनमा यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए। वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाका अनुसार विगतझैँ यस वर्ष पनि विभिन्न सामाजिक कार्यमार्फत वार्षिकोत्सव सभ्य र भव्य रूपमा सम्पन्न गरिएको हो। क्लबका महासचिव दिनेश सुनारले वैशाख १ देखि ७ गतेसम्म विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: