
पोखरा । पोखरामा नेपाल दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन हुने भएको छ। वैशाख २६ गते आयोजना गरिने उक्त अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको छ। अधिवेशन सफल बनाउन मूल आयोजक समितिको बैठकले विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ।
मूल आयोजक समितिका संयोजक तथा दशनामी समाजका केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीको अध्यक्षतामा सम्पन्न बैठकले आर्थिक संकलनदेखि अतिथि सत्कार, मञ्च व्यवस्थापन, आवास तथा प्रचारप्रसारसम्मका उपसमितिहरू गठन गरेको हो। आर्थिक संकलन उपसमितिको संयोजकमा तारा गिरी चयन हुँदा अतिथि सत्कारतर्फ सपना गिरीको नेतृत्व रहनेछ। त्यस्तै मञ्च तथा खानपान व्यवस्थापन, स्वयंसेवक परिचालन, आवास व्यवस्थापन र निर्वाचन उपसमितिहरू पनि गठन गरिएका छन्।
अधिवेशन पोखराको सृजनाचोकस्थित त्रिशक्ति पार्टी प्यालेसमा सञ्चालन हुनेछ। कार्यक्रममा देशभरका दशनामी समुदायअन्तर्गत गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य तथा तीर्थ समूहका महिला प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। करिब ३०० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने जनाइएको छ।
कार्यक्रममा संगठन सुदृढीकरण, समुदायका मुद्दा तथा आगामी कार्ययोजनाबारे व्यापक छलफल हुने आयोजकले बताएका छन्। २०५४ सालमा स्थापना भएको नेपाल दशनामी समाज हाल देशका ६७ जिल्लामा विस्तार भइसकेको छ। आयोजकले अधिवेशन सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
