
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२, खुदीखोलामा “विकृति-विसङ्गति रहित समाज निर्माण हाम्रो अभियान” भन्ने उद्देश्यका साथ कानुनी प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा-२७ डाँडाको नाक, कास्कीको आयोजनामा श्रमिकसँग न्यायिक समिति सम्बन्धी उक्त कार्यक्रम आइतबार सम्पन्न गरिएको हो ।
कार्यक्रम पोखरा महानगरपालिकाको न्यायिक समितिको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङले मानव अधिकार तथा सामाजिक सचेतना सम्बन्धी जानकारी प्रवाह गर्ने उद्देश्यले तयार पारिएको सामग्री सार्वजनिक गर्दै नागरिकलाई आफ्नो अधिकारप्रति सजग र कर्तव्यप्रति जिम्मेवार बन्न आग्रह गर्दै उनले समाजमा विद्यमान विभेद, अन्याय तथा हिंसालाई न्यूनीकरण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।
उपमेयर गुरुङले कानुनी प्रक्रियाको सही प्रयोगमार्फत स्थानीय तहमै धेरै समस्याहरू समाधान गर्न सकिने बताउँदै सुकुम्बासी समस्यालाई पनि कानुनी प्रक्रिया र वैकल्पिक व्यवस्थाका आधारमा समाधान गरिने धारणा गर्दै उनले न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने बताइन् ।
लेखनाथ सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष कृष्ण रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लागूऔषध दुव्र्यसन तथा महिला सचेतनासम्बन्धी विषयमा प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोक्काले प्रशिक्षण दिएक थिए । रोक्काले लागूऔषध दुरुपयोगका कारण समाजमा बढ्दो चुनौती, त्यसको नियन्त्रणका उपाय तथा महिला हिंसा न्यूनीकरणका विषयमा विस्तृत जानकारी गराए ।
कार्यक्रममा वडा नं. ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले स्थानीय स्तरमा यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए त्यस्तै संस्थाका सदस्य अर्जुन मल्ल, वडा नं. २९ का वडा सदस्य कालिदास पौडेल तथा वडा नं. १९ की वडा सदस्य रजनी परियारले पनि आ-आफ्नो धारणा राख्दै समाज सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी श्रमिक तथा स्थानीयवासीहरूले न्यायिक समिति मार्फत उपलब्ध हुने सेवा, उजुरी प्रक्रिया, मेलमिलाप विधि तथा कानुनी सहायता सम्बन्धी जानकारी प्राप्त गरेका थिए । साथै अन्तरकृया मार्फत स्थानीय स्तरमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे खुला छलफल गरिएको थियो ।
आयोजक संस्थाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समाजमा कानुनी सचेतना वृद्धि, अपराध न्यूनीकरण तथा शान्ति-सुरक्षाको सुदृढीकरणमा योगदान पु¥याउने जनाएको छ । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, प्रहरी कर्मचारी, सामाजिक अगुवा तथा स्थानीयबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
