
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार सोमबार अर्थात् वैशाख १४ गते साँझ करिब ६:५० बजे पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी क्षेत्रमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोली खटिएको थियो।
उक्त टोलीमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिशुवा तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराका सुरक्षाकर्मी सहभागी थिए। प्रहरीले तालचोक क्षेत्रमा ग ७ प ७२४१ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा सवार २९ वर्षीय भरत घिसिङलाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट डाईजेपाम ११५ एम्पुल, फेनारगन ११५ एम्पुल र ब्रुफिनुर्फिन ११५ एम्पुल गरी जम्मा ३४५ एम्पुल लागू औषध, एक थान मोबाइल र नगद १ हजार बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका घिसिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
