
पोखरा । जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ। जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८२/०८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा विनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ।
यसरी अनुगमन गरिएका योजनाहरूमा जिल्ला समन्वय समिति कास्की र माछापुच्छ्रे गाउँ पालिकाको लागत साझेदारीमा निर्माणाधीन माछापुच्छ्रे गाउँपालिका- ६ को वडा कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण योजना , बराह मावि भेडावारिको स्टेज निर्माण र कैलाश मावि पर्खाल निर्माण योजना, माछापुच्छ्रे गाउँपालिका-४ को वडा कार्यालय तथा स्वास्थ्य चौकी मर्मत सम्भार योजना, माछापुच्छ्रे गाउँपालिका- ३ शुक्लागण्डकी माविको सभाहल, मेघराज आधारभुत विद्यालय सभाहल निर्माण, माछापुच्छ्रे गाउँपालिका-५ स्थित निस्पक्ष माविको सभाहल निर्माण योजना, माछापुच्छ्रे गाउँपालिका- ८ तारे बराह आहारभुत विद्यालय भवन निर्माण योजना रहेका छन ।
अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले विनियोजित बजेट र निर्धारित मापदण्ड अनुसार गुणस्तरीय कार्यमा ध्यान दिन आग्रह गरे। कमजोरी देखिएका केही योजनालाई तत्काल सच्याउन आग्रह गर्दै पौडेलले निर्माण कार्य प्रभावकारी र निर्धारित समयमा सम्पन्न गर्न निर्माण कम्पनी, साझेदार पालिका र सरोकारवाला उपभोक्ता जागरुक हुन आग्रह गरे।
अनुगमनमा जिसस कास्कीका सदस्यद्वय सुकमाया नेपाली, लक्ष्मी दमाई, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालसहित इन्जिनियर, प्राबिधिक तथा कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी रहेका थिए ।
