
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं. १९ गैरीखोरबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ।
गैरीखोरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा सि.आर.भि. लामाचौरबाट खटिएको प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४:२० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवाको खालबाट नगद रू. ४२ हजार २०५ र ५ बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ परेका ४ जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर’ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
