बुद्ध पूर्णिमामा पोखरामा परम्परागत ‘भयर पूजा’ सम्पन्न, कृषि र प्रकृति संरक्षणको सन्देश

Share:

पोखरा । कास्की र तनहुँ जिल्लाको सिमानामा पर्ने पोखरा उपत्यकाको प्रवेशद्वार नजिक तार्कुडाँडास्थित जुरेथुममा बुद्ध पूर्णिमाको अवसरमा परम्परागत “भयर पूजा” सम्पन्न गरिएको छ। पोखरा महानगरपालिका-३२ (लेखनाथ) र शुक्लागण्डकी नगरपालिका-२ का स्थानीय समुदायको सक्रिय सहभागितामा करिब तीन सय वर्षदेखि निरन्तर रूपमा यो पूजा गर्दै आइएको छ।

कृषि र पशुधन संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको मानिने भयर पूजा स्थानीय सांस्कृतिक परम्पराको महत्वपूर्ण अभ्यासका रूपमा रहँदै आएको छ। बुद्ध पूर्णिमा-गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणसँग सम्बन्धित पवित्र दिनका अवसरमा यो पूजा विशेष महत्वका साथ मनाइन्छ। स्थानीयहरूले प्रकृतिसँग सन्तुलन, शान्ति र संरक्षणको सन्देश प्रवाह गर्दै पूजा गर्ने परम्परा कायम राखेका छन्।

स्थानीयवासीका अनुसार भयर पूजा कुनै धार्मिक ग्रन्थमा आधारित नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्यास हो। वाइसे-चौविसे राजाको पालादेखि नै विक्रम संवत् १८०० अघि पोखराको हेम्जाबाट खनाल वंशका पुर्खाहरू बसाइँ सरेपछि यो पूजा सुरु भएको जनविश्वास रहेको छ।

भयर पूजा केवल धार्मिक अनुष्ठानमा सीमित नभई सामाजिक एकता र सहकार्यको महत्वपूर्ण माध्यम पनि बनेको छ। यसले समुदायमा आपसी सहयोग, साझा जिम्मेवारी र सामूहिक चेतना विकास गर्न भूमिका खेल्दै आएको छ।

भयर पूजा समितिका अध्यक्ष तथा स्थानीय ज्येष्ठ नागरिक रुद्रप्रसाद खनाल, लिलामणि खनाल र उदयराज खनालका अनुसार यस्ता परम्परागत अभ्यासहरूले प्रत्यक्ष वैज्ञानिक समाधान नदिए पनि समुदायमा सचेतना, सहकार्य र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछन्। साथै, प्रकृतिप्रति सम्मान र सन्तुलन कायम राख्ने सन्देश पनि दिन्छन्।

यस क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक महत्व संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना पनि देखिएको छ। च्यवन ऋषिको तपोभूमिका रूपमा परिचित यस क्षेत्रमा विविध जडीबुटी, माहुरी पालन तथा पोखरा उपत्यकाका ताल र हिमालय श्रृंखलाको अवलोकन गर्न सकिने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सरोकारवालाहरूको धारणा छ।

आधुनिक प्रविधि र वैज्ञानिक युगमा पनि भयर पूजा ग्रामीण जीवनशैली, सांस्कृतिक विश्वास र प्रकृतिसँगको सम्बन्धको सशक्त प्रतीकका रूपमा जीवित रहँदै आएको छ। यसले कृषि र पशुपालनमा निर्भर समुदायको सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: