
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले ड्रोन तथा भर्टिकल मोबिलिटीसम्बन्धी पाँच दिने अन्तर्राष्ट्रिय तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (FIA) रिजनल एसिया प्यासिफिकको वार्षिक क्यालेन्डरअन्तर्गत सञ्चालन गरिएको उक्त तालिम वैशाख २७ गते सोमबारदेखि सुरु भई शुक्रबार सम्पन्न भएको हो।
स्विट्जरल्याण्डस्थित ड्रोन एण्ड भर्टिकल मोबिलिटी एकेडेमीसँगको सहकार्यमा आयोजित तालिमले अटोमोबाइल, मोटरस्पोर्ट, पावरबोटिङसँगै ड्रोन र भर्टिकल मोबिलिटीको नयाँ प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको थियो। यसलाई नेपालमा यस क्षेत्रको पहिलो अन्तर्राष्ट्रिय प्रयासका रूपमा लिइएको छ।
तालिममा नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एफआईए ड्रोन एम्बेसेडर तथा एकेडेमी निर्देशक निकोलस व्रिगरले प्रशिक्षण दिएका थिए भने अण्डोरा अटोमोबाइल क्लबका निर्देशक डेविड फ्रान्सिनेटले एफआईएको ड्रोन रणनीति र अन्तर्राष्ट्रिय अभ्यासबारे प्रस्तुति दिएका थिए।
काठमाडौं विश्वविद्यालय परिसर, धुलिखेल लज रिसोर्ट र रोयल टुलिप काठमाडौमा सञ्चालन गरिएको तालिममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) का गाइडलाइन, उड्डयन कानुन, ड्रोन प्रविधि, वातावरणीय प्रभाव, पर्यटन प्रवर्द्धनमा ड्रोनको भूमिका तथा यसको व्यावसायिक प्रयोगबारे विस्तृत छलफल गरिएको थियो।
तालिममा बंगलादेशका इहसान अहमद, सिंगापुरका ली वुन वी, श्रीलंकाका इन्दुला सुमिथाराहोची तथा नेपालका अंकित भण्डारी, सिजन भट्टराई र मोतिराम इटनी सहभागी भएका थिए। कार्यक्रम व्यवस्थापनमा नासा नेपालका सुवास भट्टराई र किरण धितालले सहजीकरण गरेका थिए।
नासा नेपालले यस तालिमसँगै आफ्नो कार्यक्षेत्र जलदेखि आकाशसम्म विस्तार गर्दै ड्रोन तथा भर्टिकल मोबिलिटीलाई पनि समेटेको जनाएको छ। यससँगै सहभागी देशका फेडेरेसनहरूले पनि भविष्यमा ड्रोन प्रविधि र भर्टिकल मोबिलिटी क्षेत्रमा सक्रिय रूपमा कार्य अघि बढाउने अपेक्षा गरिएको छ।
