
काठमाडौं । आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुन लागेको १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई पोखराका पर्यटन व्यवसायीहरूले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखराका विभिन्न पर्यटनसम्बन्धी संघसंस्थासँग गरेको छलफलमा यो सहमति जुटेको हो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले टुगेदर फर टुरिजम भन्ने नारालाई सार्थक बनाउन खेलकुद अवार्डसँग सहकार्य गर्दै अघि बढ्ने बताए भने पूर्व अध्यक्ष गोपी भट्टराईले राज्यले गर्नुपर्ने खेलाडी सम्मानको काम पत्रकारहरूले गर्नु गौरवको विषय भएको उल्लेख गरे।
त्यस्तै, टीकाराम सापकोटा, सुनिल भट्टराई, संगीता पौडेल र कृष्ण आचार्य लगायतका व्यवसायीहरूले खेलकुद र साहसिक पर्यटनलाई जोडेर लैजाँदा पोखराको आर्थिक गतिविधि चलायमान हुने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
होटल संघ पोखरा, टेवान र ओटेफ जस्ता संस्थाहरुले पनि यस गौरवमय कार्यक्रममा आफ्नो भौतिक, नैतिक र आर्थिक सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
मञ्चका अध्यक्ष एमबी आस्था मगरका अनुसार यसपटकको अवार्डलाई खेलकुद र पर्यटनको साझा प्लेटफर्मका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राखिएको छ।
१० औं संस्करणको यस अवार्डमा लाइफटाईम एचिभमेन्ट, वर्ष उत्कृष्ट खेलाडी (पुरुष र महिला), उदियमान खेलाडी, प्रशिक्षक, खेल पत्रकार र खेल संघसहित कुल ९ विधामा अवार्ड प्रदान गरिनेछ।
कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, विभिन्न गाउँपालिकाहरू र निजी क्षेत्रका प्रतिष्ठित संघसंस्थाहरूले विशेष सहयोग गरेका छन् भने पिपुल्स च्वाइस अवार्डका लागि स्कुटर र स्पेशल अवार्डका लागि विभिन्न प्रायोजन समेत सुनिश्चित भइसकेका छन्। सहयोगी हातहरू जुट्ने क्रम अझै जारी रहेको आयोजकले जनाएको छ।
