
कास्कीको रुपा गाउँपालिकामा सशस्त्र प्रहरी बल र गाउँपालिकाको संयुक्त पहलमा आयोजित १८ दिने ‘समुदाय विपद् स्वयंसेवक’ तालिम मंगलबार सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेक्वा कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको समन्वयमा गत चैत २५ गतेदेखि सञ्चालित उक्त तालिमको एक समारोहका बीच समापन गरिएको हो।
रुपा गाउँपालिका वडा नं. ५ को सभाहलमा आयोजित कार्यक्रममा ३५ जना प्रशिक्षार्थीहरू सहभागी थिए। तालिम अवधिभर उनीहरूलाई विपद् व्यवस्थापनका आधारभूत तथा प्राविधिक पक्षहरूमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
प्रशिक्षार्थीहरूले मेडिकल फस्ट रेस्पोन्डर र प्राथमिक उपचार, बाढी, पहिरो, डुबान र आगलागी (वन डढेलो) नियन्त्रण, रोप रेस्क्यु (डोरीको सहायताले गरिने उद्धार) र विभिन्न गाँठाहरूको प्रयोग, भूकम्पीय जोखिम न्यूनीकरण र सडक दुर्घटनामा गरिने उद्धार, वाटर रेस्क्यु टेक्निक र उद्धार सामग्रीहरूको सुरक्षित प्रयोगलगायत विषयहरूमा विशेष सीप हासिल गरेका छन् ।
समापन कार्यक्रमका प्रमुख अतिथि एवं रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले तालिम प्राप्त स्वयंसेवकहरू गाउँपालिकाको शक्ति भएको बताए ।
उनले भने, ‘विपद्का समयमा यी दक्ष स्वयंसेवकहरूले अग्रपङ्क्तिमा खटिएर जनधनको रक्षा गर्न ठूलो योगदान पुर्याउनेछन् भन्ने विश्वास लिएको छु।’
त्यस्तै, सशस्त्र प्रहरी उपरीक्षक (गणपति) वसन्त बहादुर सिंहले विपद्को समयमा सबैभन्दा पहिले घटनास्थलमा पुग्ने स्थानीय समुदाय नै हुने भएकाले यस्तो तालिम अपरिहार्य रहेको उल्लेख गरे ।
‘उचित तालिम र तयारीले सानो सीप र सीमित साधनका बावजुद पनि ठूलो क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरा यस तालिमले पुष्टि गरेको छ,’ उनले भने ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । करिब ५५ जनाको उपस्थिति रहेको उक्त समापन समारोहले स्थानीय स्तरमा विपद् प्रतिकार्य टोली तयार भएको सन्देश दिएको छ ।
