
पोखरा । समाजका असहाय जेष्ठ नागरिकलाई आश्रय दिँदै आएको पोखरा वृद्धाश्रमले अहिले एक विद्यार्थीको भविष्य निर्माणको जिम्मेवारीसमेत उठाएर मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। लुम्बिनी प्रदेशको देवदह नगरपालिका-३ स्थायी घर भएका समिर चौधरी हाल कक्षा १० मा अध्ययनरत छन्। बाल्यकालदेखि नै परिवारको सहाराविहीन बनेका समिरले अनेक संघर्षका बीच पढाइलाई निरन्तरता दिँदै आएका थिए।
पोखरामा रहँदै बिहान-साँझ श्रम गरेर पढ्दै आएका समिर बालश्रमसम्बन्धी समाचार सार्वजनिक भएपछि उद्धार गरी सिर्जना बालगृहमा राखिएका थिए। तर दुर्भाग्यवश उक्त बालगृह बन्द भएपछि उनी फेरि असहज अवस्थामा पुगे। जानकी माध्यमिक विद्यालयमा अध्ययन जारी राखे पनि स्थायी बसोबास र खानाको व्यवस्था नहुँदा कहिले साथीको घर त कहिले अन्यत्र आश्रय खोज्दै कष्टकर जीवन बिताउन बाध्य भए।
यही अवस्थालाई मध्यनजर गर्दै जानकी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको पहलमा पोखरा वृद्धाश्रमले समिरको अभिभावकत्व ग्रहण गरेको हो। अहिले वृद्धाश्रमले उनलाई बस्ने कोठा, दैनिक खाना र विद्यालयको खाजासम्मको व्यवस्था मिलाइदिएको छ।
समिर भन्छन्, “घरमा हजुरआमा हुनुहुन्छ भन्ने मात्रै थाहा छ, तर बुबाआमाबारे केही जानकारी छैन। अहिले आश्रमले बस्ने र खाने राम्रो व्यवस्था गरिदिएपछि पढाइमा ध्यान दिन सहज भएको छ। अब मेरो लक्ष्य राम्रोसँग पढेर समाज र देशको सेवा गर्ने हो।” पोखरा वृद्धाश्रमका अध्यक्ष कृष्णकेशव पराजुलीका अनुसार आश्रममा हाल ५५ जना जेष्ठ नागरिक आश्रित छन्।
उनले भने, “हामी जेष्ठ नागरिक मात्र होइन, सहाराविहीन बनेका अन्य व्यक्तिलाई पनि सक्दो सहयोग गर्दै आएका छौँ। समिरको पढाइ नरोकिने वातावरण बनाउन सकेकोमा हामी खुसी छौँ।”
मानव सेवाको अर्को रूप बनेको यो पहलले समाजमा अझै पनि संवेदनशील मन भएका संस्था र मानिसहरू जीवित छन् भन्ने सन्देश दिएको छ। पोखरा वृद्धाश्रम केवल जेष्ठ नागरिकको सहारा मात्र नभई असहाय जीवनको भरोसा बन्न सक्छ भन्ने उदाहरण समिरको जीवनले उजागर गरेको छ।
