पर्यटकीय गाउँ ल्वाबमा ‘सिनेमा संवाद’ सुरु

Share:

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाबमा ‘सिनेमा संवाद’ कार्यक्रम सुरु भएको छ। गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले क्लाप गरी कार्यक्रम उद्घाटन गरेकी हुन्।

उद्घाटनपछि बोल्दै प्रेस रजिष्ट्रार भण्डारीले सिनेमा केवल मनोरञ्जनको माध्यम नभई समाजको कथा बोल्ने शक्तिशाली सञ्चार माध्यम भएको बताइन्। उनले कलाकारलाई “राज्यका गहना” मात्र नभई समाज रूपान्तरण र चेतना परिवर्तनका वास्तविक संवाहकको रूपमा चित्रित गरिन्।

“चलचित्र समाजको ऐना मात्र होइन, विचारको संवाहक, संस्कृतिको रक्षक र आर्थिक समृद्धिको सशक्त इन्जिन पनि हो,” उनले भनिन्। भण्डारीले डिजिटल युगमा फैलिरहेका भ्रमपूर्ण सूचना र मिथ्या सूचनाविरुद्ध कलाकार तथा चलचित्र क्षेत्रले सत्य र तथ्यको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याइन्। “कलाकारहरू विज्ञापनमा देखिने पात्र मात्र होइनन्, उनीहरू समाजका रोल मोडल हुन्,” उनले जोड दिइन्।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले ल्वाबमा आयोजित सिनेमा संवादले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले घलेल, मर्दी हिमाल, धम्पुस, घाचोक, खुमाईलगायत क्षेत्रको पर्यटन सम्भावनाबारे चर्चा गरिन्।

माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङले माछापुच्छ्रे हिमालकै कारण पोखराले पर्यटकीय राजधानीको पहिचान पाएको दाबी गर्दै गाउँमा दुःखसँगै सुख पनि रहेको उल्लेख गरे।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघको स्थापना र गतिविधिबारे चर्चा गर्दै यस्ता कार्यक्रमले समाज, सिनेमा र पर्यटनबीचको सम्बन्ध अझ बलियो बनाउने बताए।

संघका पूर्वअध्यक्ष अरुण गिरीले “गाउँलेले सिनेमा बुझोस्, सिनेमाले गाउँ बुझोस्” भन्ने उद्देश्यसहित सिनेमा संवाद सुरु गरिएको बताए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले सिनेमा संवाद पछिल्लो समय “ब्रान्ड”का रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।

संघका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य सुरज थापा र सञ्चालन सचिव सुरेश सुनारले गरेका थिए।

शनिबार दोस्रो दिन चार फरक सेसनमा नेपाली सिनेमाका विविध विषयमा छलफल हुने आयोजकले जनाएको छ। “नयाँ पुस्ता र नेपाली सिनेमा”, “सिनेमामा द्वन्द्व”, “ग्लोबल मार्केटमा नेपाली सिनेमा” र “कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा” विषयमा कलाकार, निर्देशक, निर्माता र सञ्चारकर्मीबीच संवाद हुने कार्यक्रम छ।

कार्यक्रममा कलाकार, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ। पर्दामा देखिने कलाकार गाउँमै पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालका अनुसार नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यबारे गहन छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यसअघि घान्द्रुक, सिक्लेस र घलेगाउँमा सम्पन्न भइसकेको सिनेमा संवादको चौथो संस्करण ल्वाबमा आयोजना गरिएको हो।

कमेन्ट गर्नुहोस्
Share: