
पोखरा । पर्यटकीय गाउँ ल्वाङ नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक, पत्रकार र स्थानीयको साक्षी बनेको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा सम्पन्न ‘सिनेमा संवाद’को चौथो संस्करणले नेपाली सिनेमाका चुनौती, सम्भावना र बदलिँदो प्रवृत्तिबारे गहन बहस सिर्जना गरेको हो ।
दुई दिनसम्म चलेको कार्यक्रममा नेपाली चलचित्र उद्योगको वर्तमान अवस्था, विश्व बजारमा विस्तार, नयाँ पुस्ताको भूमिका, द्वन्द्वप्रधान चलचित्रको प्रभाव तथा डिजिटल युगमा कन्टेन्ट क्रिएटरको बढ्दो उपस्थितिलगायत विषयमा खुला संवाद गरिएको थियो ।
शनिबार गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले ‘क्लाप’ गरी उद्घाटन गरेको कार्यक्रममा उनले सिनेमा समाजको ऐना मात्र नभई विचार र आर्थिक समृद्धिको महत्वपूर्ण माध्यम भएको बताइन् । डिजिटल युगमा फैलिने भ्रम र मिथ्या सूचनालाई चिर्न चलचित्रकर्मीले जिम्मेवार भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् ।
माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी र वडा नं. ८ का वडाध्यक्ष राम गुरुङले यस्ता कार्यक्रमले ग्रामीण पर्यटन प्रवर्द्धनसँगै ल्वाङजस्ता गाउँलाई राष्ट्रिय पहिचान दिलाउने विश्वास व्यक्त गरे ।
विश्व बजारमा नेपाली सिनेमा
कार्यक्रमको पहिलो सत्र ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा केन्द्रित थियो । लेखक तथा निर्देशक सामिप्यराज तिमिल्सिनाले नेपाली चलचित्र अब अन्तर्राष्ट्रिय बजारमा स्थापित हुँदै गएको बताए ।
उनले ‘उनको स्वीटर’ले विदेशबाट ६ करोड रुपैयाँ र ‘जेरी एण्ड टप’ले साढे ३ करोड रुपैयाँ आम्दानी गरेको तथ्य प्रस्तुत गर्दै नेपाली फिल्मको बजार विश्वव्यापी भइसकेको दाबी गरे ।
अभिनेत्री बेनिशा हमालले बलियो कथावस्तु भए सीमित बजेटले सिर्जनशीलतालाई रोक्न नसक्ने अनुभव सुनाइन् ।
नयाँ पुस्ताको नयाँ सोच
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ विषयक दोस्रो सत्रमा अभिनेत्री आँचल शर्माले पुरानो पुस्ताको मेहनत र अनुशासनबाट सिक्दै नयाँ पुस्ताले फरक विषयवस्तु र नयाँ शैलीमा काम गर्नुपर्ने बताइन् । अभिनेता सलोन बस्नेतले चलचित्र निर्माण प्रणालीमा सुधार आवश्यक रहेको धारणा राखे भने अभिनेत्री सनिशा भट्टराईले महिला सशक्तीकरणका विषयमा अझ बढी चलचित्र निर्माण हुनुपर्नेमा जोड दिइन् ।
द्वन्द्वप्रधान फिल्मको प्रभाव
‘सिनेमामा द्वन्द्व’ विषयक तेस्रो सत्रमा अभिनेता निखिल उप्रेतीले द्वन्द्वलाई केवल लडाइँ नभई कथाको स्पष्ट अभिव्यक्ति भएको बताए । उनले विश्व बजारमा एक्सनप्रधान फिल्मको प्रभाव बढिरहेको उल्लेख गर्दै नेपाली चलचित्रले स्वदेशी दर्शकलाई विदेशी फिल्मबाट फर्काउन सक्नुपर्ने बताए ।
निर्देशक मनोज पण्डितले भने अधिकांश फिल्मले लगानी उठाउन नसकेको यथार्थ प्रस्तुत गर्दै दर्शकलाई अनुभूति गराउने स्तरका गुणस्तरीय फिल्म निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । विदेशी चलचित्रले नेपालबाट वार्षिक २५ देखि ३० करोड रुपैयाँ बाहिर लैजाने गरेको तथ्यांक समेत उनले प्रस्तुत गरे ।
कन्टेन्ट क्रिएटर बनाम सिनेमा
अन्तिम सत्र ‘कन्टेन्ट क्रिएटर भर्सेस नेपाली सिनेमा’ मा सामाजिक सञ्जाल र चलचित्रबीचको सम्बन्धबारे बहस भयो । कन्टेन्ट क्रिएटर इस्टु कार्की र महेश भण्डारीले सामाजिक सञ्जाल र सिनेमा एकअर्काका पूरक भएको धारणा राखे ।
कार्यक्रमका क्रममा पहिलो दिन साँझ ल्वाङ होमस्टेमा आयोजित ‘सिनेमा साँझ’ ले कलाकार र स्थानीयबीच सांगीतिक तथा भावनात्मक सम्बन्ध थप प्रगाढ बनाएको थियो ।
संघका अध्यक्ष सन्तोष बस्यालले ‘सिनेमा संवाद’ नेपाली चलचित्रकर्मी र पत्रकारबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । घान्द्रुक, सिक्लेस र घलेगाउँपछि ल्वाङमा सम्पन्न चौथो संस्करणले नेपाली सिनेमाको विकासका लागि नयाँ बहस सुरु गरेको संस्थापक अध्यक्ष नतसीराम सिग्देल र पूर्व अध्यक्ष अरुण गिरीले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराललगायतले ‘सिनेमा संवाद’ पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकै स्थापित ब्राण्ड बनेको टिप्पणी गरेका थिए । आफ्नै गाउँमा चलचित्रका चर्चित कलाकारलाई प्रत्यक्ष भेट्न पाउँदा ल्वाङका स्थानीयवासी पनि उत्साहित देखिएका थिए ।
