
काठमाडौं । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू-भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ।
यसका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा अहिले साधारणतया बादल लागेको छ भने देशका अन्य भू-भागहरूमा आंशिक बादल देखिएको छ। हाल कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल रहने जानकारी दिएको छ।
दिउँसो देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि मौसममा सुधार हुने देखिएको छैन। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने देखिएको छ।
वर्षासँगै हिमाली क्षेत्रका कतिपय स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
