पोखरा बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने ६ जना पक्राउ

Share:

पोखरा । पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा झै–झगडा (ग्याङ फाइट) गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख २२ गते राति करिब ९ः३० बजे पोखरा महानगरपालिका-२ स्थित बाग्लुङ बसपार्कमा दुई समूहबीच भएको झै-झगडाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलासका क्रममा वैशाख २६ गते बाझापाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा-१३ बाँझापाटनका २७ वर्षीय सुजन आले मगर, मादी गाउँपालिका-११ स्थायी घर भई हाल बाँझापाटन बस्दै आएका २३ वर्षीय राजेश परियार, गोरखा धार्चे गाउँपालिका-६ स्थायी घर भई हाल बाँझापाटन बस्दै आएका ३० वर्षीय दिपेश भनिने दिलेराम गुरुङ रहेका छन् ।

त्यसैगरी नुवाकोट स्थायी घर भई हाल बाग्लुङ बसपार्क बस्दै आएका १८ वर्षीय सुजन तामाङ र २५ वर्षीय राजकुमार तामाङ तथा पोखरा-२ बाग्लुङ बसपार्ककी २० वर्षीया लिजा पुन पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट झै-झगडाको मुख्य कारण लागूऔषध कारोबार रहेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: