
पोखरा । पोखरा महानगरपालिका-२० खोरमा रहेको सदाशिव ज्येष्ठनागरिक दिवा सेवा केन्द्रको प्रथम अधिवेशनबाट प्रजापति पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । तीन वर्षे कार्यकाल रहने समितिको उपाध्यक्षमा कमला सुवेदी, सचिवमा तुलसी तिमिल्सिना, कोषाध्यक्षमा गमबहादुर जिसी, सहसचिवमा रनबहादुर घर्ती चयन भएका छन् । त्यस्तै सदस्यहरूमा कृष्णप्रसाद भण्डारी, एकबहादुर घर्ती, लक्ष्मी सुवेदी, मधुमाया थापा, शिवराज सुवेदी र लेखबहादुर थापा रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका-२० का वडाध्यक्ष गंगाबहादुर केसीले ज्येष्ठनागरिकको हकअधिकार सुनिश्चित गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताए । उनले वडामा सञ्चालित तीनवटा ज्येष्ठनागरिक दिवा सेवा केन्द्रमा स्वास्थ्य परीक्षण, खाजा तथा स्वच्छ पिउने पानीको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त सचिव दामोदर सुवेदीले प्रदेश सरकारले ज्येष्ठनागरिकको सेवा-सुविधाका लागि आवश्यक भौतिक संरचना निर्माण तथा मनोरञ्जन सामग्री खरिदमा सहयोग गर्दै आएको बताए । वरिष्ठ पत्रकार हरि बास्तोलाले ज्येष्ठनागरिकलाई वृद्धाश्रममा नभई घरमै सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उनीहरूको ज्ञान, सीप र अनुभवलाई समाजले उपयोग गर्नुपर्ने धारणा राखे ।
सो अवसरमा केन्द्रका ज्येष्ठ सदस्य रामकुमारी गुरुङ, केशवराज गौतम र कान्ती घर्तीलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । केन्द्रमा हाल एक जना संरक्षक सदस्य, ७१ जना आजीवन सदस्य र एक जना साधारण सदस्य आबद्ध रहेको सहसचिव तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
केन्द्रका अध्यक्ष तोयनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य मीना पौडेल, समाजसेवी त्रिलोचन गौतम, मिलनकुमार जिसी, रामजीप्रसाद पौडेल, हरिहर ज्येष्ठ नागरिक समाज भलामका अध्यक्ष विष्णुप्रसाद खत्री, शिव मन्दिर आमा समूहकी अध्यक्ष सुष्मिता घर्तीलगायतले ज्येष्ठनागरिकको हकहित र अधिकार सुनिश्चित गर्न परिवारदेखि समाजसम्म सचेत हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अध्यक्ष तोयनाथ पौडेल र सचिव प्रजापति पौडेलले सांगठनिक तथा कोषाध्यक्ष लेखबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
