एसईईमा मदरल्याण्डका १२ र गण्डकी बोर्डिङका ५ विद्यार्थीलाई पूर्ण जीपीए

Share:

पोखरा। पोखराको माबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हात पारेको छ । सोमबार सार्वजनिक नतिजाअनुसार विद्यालयका १२ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेका हुन् । यो संख्या विद्यालयको इतिहासमै सबैभन्दा धेरै हो। यसअघि २०८१ मा ११ जना र २०८० मा १० जना विद्यार्थीले पूर्ण जीपीए ल्याएका थिए ।

यस वर्ष सहभागी कूल १६३ विद्यार्थीमध्ये १२४ जनाले ३.६ देखि ४.० जीपीए ल्याएका छन् भने बाँकी विद्यार्थीले पनि उच्च अंकसहित उत्कृष्ट नतिजा निकालेको संस्थापक प्रिन्सिपल डा. नारायण बरालले जानकारी दिए । पूर्ण जीपीए ल्याउनेमा ७ छात्रा र ५ छात्र रहेका छन् । जसमा आयुषा अधिकारी, आयुषा पोखरेल, आयुष्मा थापा, अंकिता तिमिल्सिना, अनुष्ठान रेग्मी, दिप्सन कँडेल, दीक्षा सुवेदी, नम्रता ढकाल, साइमन अधिकारी, समीप सुवेदी, सार्थक अधिकारी र सूर्यांश केसी रहेका छन्।

गुणस्तरीय शिक्षामा आफूलाई अब्बल सावित गर्दै आएको मदरल्याण्डले यसअघि कक्षा १२ को नतिजामा पनि पटक-पटक ‘नेपाल टप’ गर्दै विभिन्न ‘वेस्ट स्कुल अवार्ड’ हरू प्राप्त गरिसकेको छ। प्रिन्सिपल डा. बरालले विद्यार्थीको मिहिनेत, शिक्षक र अभिभावकको अहोरात्र खटाइ तथा टिमवर्कका कारण यो गौरवपूर्ण सफलता सम्भव भएको बताए ।

यसैगरी, पोखराकै लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलले पनि एसईईमा उत्कृष्ट नतिजा हासिल गरेको छ । सोमबार प्रकाशित नतिजाअनुसार विद्यालयका ५ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका छन् । परीक्षामा सहभागी १२० जना विद्यार्थी नै उत्तीर्ण भएको जानकारी दिँदै प्राचार्य विश्वयूधीर पौडेल घर्तीले ९१ जना विद्यार्थी ३.६० देखि ४.० जीपीएभित्र समेटिएको बताए ।

साथै ७ जना विद्यार्थीले ३.९५ देखि ३.९६ जीपीए ल्याएर विद्यालयको गरिमा बढाएका छन् । यसैगरी, ग्लोबल कलिजियट माध्यमिक विद्यालयले माध्यमिक यस वर्षको एसईईमा ३ विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन् । आर्य, अविप्सा र स्मृतिले यो सफलता हात पारेका हुन् ।

कुल परीक्षार्थीमध्ये ५८ विद्यार्थीले ३.६ भन्दा माथि जिपिए ल्याएका छन्। त्यसैगरी ४० विद्यार्थीको ३.२ भन्दा माथि जिपिए आएको छ। १७ विद्यार्थीले २.८ भन्दा माथि जिपिए प्राप्त गरे भने ५ विद्यार्थीको २.८ भन्दा कम जिपिए आएको छ । धेरै विद्यार्थीले उच्च अंक ल्याएपछि विद्यालय परिवारमा उत्साह छाएको छ । पोखराका यी दुई ठूला शैक्षिक संस्थाहरूको यो सफलताले यस क्षेत्रको शैक्षिक गरिमालाई थप उचाइमा पुर्‍याएको छ ।

कमेन्ट गर्नुहोस्
Share: