पोखराका विद्यालयमा कक्षा ११ को भर्ना सुरु: पहिला आफ्नै विद्यार्थीलाई प्राथमिकता, खुला भर्ना जेठ ११ पछि मात्र

Share:

पोखरा । पोखरा महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को भर्ना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ निर्देशन जारी गरेको छ। महानगरको शिक्षा महाशाखाले मंगलबार एक सूचना सार्वजनिक गर्दै भर्नाका लागि निश्चित समयतालिका र सर्तहरू तोकेको हो।

नयाँ व्यवस्थाअनुसार विद्यालयहरूले भर्नाको पहिलो चरणमा आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई अनिवार्य रूपमा प्राथमिकता दिनुपर्नेछ।

महानगरको निर्देशनअनुसार वैशाख ३० गतेदेखि जेठ ८ गतेसम्म विद्यालयहरूले केवल आफ्ना पुराना विद्यार्थीलाई मात्र भर्ना गर्न पाउनेछन्। यो अवधिमा अन्य विद्यालयबाट आएका विद्यार्थीलाई भर्ना लिन नपाइने नियम बनाइएको छ।

आफ्ना विद्यार्थीहरूलाई भर्ना गरिसकेपछि रिक्त रहेको कोटामा मात्र खुला भर्ना प्रक्रिया अगाडि बढाउन पाइनेछ, जसका लागि जेठ ११ गतेपछिको समय तोकिएको छ। यस कदमले आफ्नै विद्यालयमा निरन्तरता चाहने विद्यार्थीहरूको हक सुरक्षित गर्ने विश्वास लिइएको छ।

यसैगरी, महानगरले संस्थागत (निजी) विद्यालयहरूलाई छात्रवृत्ति कोटाका सम्बन्धमा समेत कडाइ गरेको छ। विद्यालयहरूले अन्य विद्यार्थी भर्ना गर्दा महानगरपालिकाले तोकेको छात्रवृत्ति कोटा अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।

छात्रवृत्तिका लागि छुट्टाइएका सिटहरूमा कुनै असर नपर्ने गरी मात्र बाँकी भर्ना प्रक्रिया चलाउन निर्देशन दिइएको छ। साथै, शुल्कमा पारदर्शिता कायम गर्न सबै संस्थागत विद्यालयले शैक्षिक सत्र २०८३ को शुल्क विवरण आफ्नो सूचना पाटीमा अनिवार्य रूपमा अध्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले भर्ना प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउन यो निर्णय लिइएको बताए । उनले महानगरको निर्देशन उल्लंघन गर्ने वा छात्रवृत्ति कोटा सुरक्षित नराख्ने विद्यालयमाथि कडा निगरानी गरिने चेतावनी समेत दिएको छ।

यो नियम पोखरा महानगरपालिकाभित्र कक्षा ११ सञ्चालन गर्ने सबै सरकारी तथा निजी विद्यालयहरूका लागि अनिवार्य रूपमा लागू हुने महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: