“पूर्वतयारी गरौँ, सुरक्षित बनौँ” सन्देशसहित फेवातालमा संयुक्त विपद् उद्धार अभ्यास

Share:

पोखरा । कास्कीको फेवाताल क्षेत्रमा सम्भावित जलजन्य विपद् तथा दुर्घटनालाई लक्षित गर्दै संयुक्त कृत्रिम उद्धार अभ्यास सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जिल्ला सुरक्षा समिति कास्कीको सहकार्यमा सम्पन्न उक्त अभ्यास “विपद् आकस्मिक र अकल्पनीय रूपमा आउँछ, त्यसैले पूर्वतयारी गरौँ, सुरक्षित बनौँ” भन्ने मूल नारासहित सञ्चालन गरिएको हो।

पोखरा महानगरपालिका-६ स्थित फेवातालमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षता रहेको थियो। कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासी गरी करिब १७० जनाको उपस्थिति रहेको थियो।

अभ्यासका क्रममा फेवातालमा हुन सक्ने डुबान, दुर्घटना तथा अन्य जलजन्य विपद्का घटनामा अपनाइने खोज तथा उद्धार प्रक्रिया व्यवहारिक रूपमा प्रदर्शन गरिएको थियो। विशेषगरी गोताखोर टोलीले पानीभित्र हराएका वा दुर्घटनामा परेका व्यक्तिको खोजी तथा उद्धार कसरी गर्ने भन्ने विषयमा प्रत्यक्ष अभ्यास प्रस्तुत गरेको थियो।

कार्यक्रममा पानीभित्रको न्यून दृश्यता, उच्च दबाब, डोरी अड्किने जोखिम, सुरुङ तथा गहिरा भागमा खोजी गर्नुपर्ने चुनौतीजस्ता जटिल अवस्थाबारे जानकारी दिइएको थियो। गोताखोरहरूले डोरीमार्फत सञ्चार तथा समन्वय कायम गर्दै अत्यन्त जोखिमपूर्ण अवस्थामा पनि उद्धार कार्य गर्ने गरेको प्रदर्शनले उपस्थित सबैलाई प्रभावित बनाएको थियो।

कार्यक्रममा वक्ताहरूले विपद् व्यवस्थापनमा पूर्वतयारी र समन्वयको महत्व औंल्याउँदै विपद् जोखिम न्यूनीकरणमा गरिएको सानो लगानीले ठूलो क्षति कम गर्न सकिने धारणा व्यक्त गरे। अन्तर्राष्ट्रिय अध्ययनअनुसार विपद् जोखिम न्यूनीकरणमा गरिएको १ गुणा लगानीले १४ गुणासम्म क्षति न्यूनीकरण गर्न सकिने तथ्यसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।

उक्त कृत्रिम अभ्यासले विपद् पूर्वतयारी, उद्धार क्षमताको अभिवृद्धि तथा आम नागरिकमा विपद् सचेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: