
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले पार्टी संगठनलाई थप व्यवस्थित, चलायमान र प्रविधिमैत्री बनाउने उद्देश्यसहित क्रियाशील सदस्यहरुको विवरण अद्यावधिक अभियान सुरु गर्ने भएको छ । सोही अभियानअन्तर्गत आज पोखरामा विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार सञ्चालन हुन लागेको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् ।
पार्टीका क्रियाशील सदस्यहरुको पछिल्लो अवस्था, विवरण र तथ्यांकलाई डिजिटल तथा भौतिक दुवै माध्यमबाट व्यवस्थित गर्ने लक्ष्यसहित प्रशिक्षण आयोजना गरिएको कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने ले जानकारी दिएका छन् ।
प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका सबै जिल्ला तथा स्थानीय तहका नेतृत्वदायी व्यक्तित्वहरुको सहभागिता रहनेछ । साथै केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, संघीय निर्वाचन क्षेत्रीय सभापति, प्रदेश सभा क्षेत्रीय सभापति तथा पालिका सभापतिहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
‘पार्टीलाई थप संगठित र प्रभावकारी बनाउन क्रियाशील सदस्यहरुको विवरण अध्यावधिक गर्नु अहिलेको आवश्यकता हो,’ आयोजक पक्षले जनाएको छ । प्रशिक्षणका क्रममा सदस्यहरुको विवरण संकलन, अभिलेखीकरण र डिजिटल व्यवस्थापनसम्बन्धी प्राविधिक जानकारीसमेत प्रदान गरिनेछ ।
पार्टीको तल्लो तहसम्मको वास्तविक अवस्था बुझ्दै आगामी रणनीति तय गर्न यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । कांग्रेस गण्डकीले यस अभियानलाई संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रुपमा लिएको छ ।
न्युरोडस्थित होटल दीप सागर मा बिहान ११ बजेदेखि सुरु हुने प्रशिक्षणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश कार्यसमितिले जनाएको छ ।
