
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक स्थानमा झै-झगडा गर्ने चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ बजे नयाँबजार क्षेत्रमा दुई समूहबीच भएको झै–झगडाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान तथा खोजतलास सुरु गरिएको थियो।
त्यसक्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले झै-झगडामा संलग्न चार जनालाई जेठ ८ गते पृथ्वीचोक बाट नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेकामध्ये तनहुँ भानु नगरपालिका-१२ का ३२ वर्षीय विजय अधिकारी, धादिङ त्रिपुरासुन्दरी नगरपालिका-२ का २२ वर्षीय राजकुमार परियार, स्याङ्जा पुतलीबजार नगरपालिका-२ का २४ वर्षीय सुजन परियार तथा पोखरा महानगरपालिका-१३ मियापाटनका २३ वर्षीय निरज आले रहेका जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू सवारी साधनका हेल्परको काम गर्ने व्यक्ति रहेको र खाजा खाने विषयमा भएको विवादले झै-झगडाको रूप लिएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
