पोखरामा बसपार्क खाली गराएर आधुनिक टर्मिनल बनाउने तयारी, जग्गा खोज्न दुई समिति गठन

Share:

पोखरा । पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको व्यवस्थापन प्रक्रिया अगाडि बढाएको छ। महानगरले उनीहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा खोजी गर्न तथा वास्तविक लाभग्राही पहिचान गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको हो।

महानगर प्रमुख धनराज आचार्यका अनुसार बसपार्क क्षेत्रलाई अतिक्रमणमुक्त बनाई आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजनाअन्तर्गत समिति गठन गरिएको हो। जग्गा खोजी तथा व्यवस्थापनका लागि वडा नं. १७ की वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

समितिमा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं. १९ का अध्यक्ष तोरण बानियाँ, वडा नं. १४ का अध्यक्ष बोधराज कार्की, वडा नं. २५ का कार्यवाहक अध्यक्ष धना पोख्रेल, महानगरको नापी शाखा प्रमुख सीता कार्की तथा प्रशासन महाशाखाका प्रशासकीय अधिकृत टीकाराम बजगाईं सदस्य रहेका छन्।

समितिलाई १० कार्यदिनभित्र सम्भावित जग्गाको अध्ययन, स्थलगत निरीक्षण तथा सिफारिससहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। यससँगै महानगरले बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका ५७२ सुकुम्बासी तथा भूमिहीन परिवारको विवरण सत्यतथ्य छानबिन गर्न अर्को सात सदस्यीय समिति पनि गठन गरेको छ।

प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा रहेको उक्त समितिमा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की, भूमि प्रशासन कार्यालय, नापी कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा वडा नं. ९ का वडा सचिव सदस्यसचिव रहेका छन्।

समितिले ‘सुकुम्बासी समस्या सहजीकरण समिति’सँग समन्वय गर्दै १० कार्यदिनभित्र तथ्यगत अध्ययनसहितको प्रतिवेदन महानगरलाई बुझाउनेछ। पोखरा बसपार्क निर्माणका लागि विसं २०३२ सालमै जग्गा अधिग्रहण गरिए पनि हालसम्म व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन।

अहिले बसपार्क क्षेत्र अतिक्रमणको चपेटामा पर्दै आएको छ। महानगरले अब सुकुम्बासी व्यवस्थापनसँगै दीर्घकालीन पूर्वाधार विकासलाई तीव्रता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: