फिर्केखोला अतिक्रमण हटाउने अभियान तीव्र : ४ दिनमै १०५ संरचना हटाइयो, अब बन्नेछ आधुनिक पर्यटन करिडोर

Share:

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाउँदै चार दिनमै १ सय ५ वटा साना/ठूला संरचना हटाएको छ । बुधबार (आज) मात्रै २३ वटा संरचना हटाइएसँगै महानगरले खोला क्षेत्रलाई व्यवस्थित बनाउने अभियानलाई थप गति दिएको हो । महानगरका अनुसार वडा नम्बर १८ र २ को सिमाना क्षेत्रमा रहेका ८ वटा संरचना हटाइएका छन् भने वडा नम्बर ४ र ५ क्षेत्रमा १ वटा पक्की तथा ३ वटा कच्ची संरचना भत्काइएको छ ।

त्यसैगरी वडा नम्बर ७ र ८ क्षेत्रमा ५ वटा कम्पाउन्ड वाल र ६ वटा स्थायी संरचना हटाइएको जनाइएको छ । अभियान सञ्चालनका लागि ३ वटा जेसिबी र २ वटा एक्स्काभेटर प्रयोग गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल तथा प्राविधिक कर्मचारीहरूको संयुक्त टोली परिचालन गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले फिर्केखोला क्षेत्रलाई दीर्घकालीन रूपमा आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । योजना अनुसार खोला किनारमा साइकल ट्र्याक, व्यवस्थित फुटपाथ, हरियाली प्रवर्द्धन तथा आधुनिक प्रकाश व्यवस्थासहित सुरक्षित करिडोर निर्माण गरिनेछ ।

स्थानीय सरकारको यो अभियानलाई पोखराको सौन्दर्य, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको छ । फिर्केखोलाको खुला तथा व्यवस्थित स्वरूपले आगामी दिनमा पोखराको नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: