
पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्रता दिँदै पृथ्वीचोक क्षेत्रमा रहेका विभिन्न संघसंस्थाका संरचना हटाउने तयारी गरेको छ। महानगरपालिकाले बिहीबार (आज) साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कङ्ग्रेस तथा हिमाली सांस्कृतिक परिवार लगायतका संरचनाहरू हटाउने जनाएको हो।
नगर प्रमुख धनराज आचार्यका अनुसार सम्बन्धित संस्थाहरूलाई आफ्ना सामग्री स्थानान्तरण गर्न ३५ दिनभन्दा बढी समय दिइएको थियो। अधिकांश संरचना खाली भइसकेपछि हटाउने प्रक्रिया अघि बढाइएको उनले बताए ।
महानगरपालिकाका अनुसार उक्त जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक क्षेत्र हो, जसको विभिन्न संस्थाले लामो समयदेखि प्रयोग गर्दै आएका थिए। अब त्यहाँ रहेका संरचना हटाएर नयाँबजारतर्फ जोडिने दुईतर्फी सडक विस्तार गरिने योजना रहेको छ।
महानगरपालिकाले आसपासमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको समेत उचित व्यवस्थापन गरी क्षेत्र खाली गर्ने तयारी गरेको जनाएको छ। सार्वजनिक उपयोगका पूर्वाधार विस्तारसँगै सडक व्यवस्थापन र सहरी सौन्दर्यीकरणमा समेत यस कदमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख आचार्यले अभियान सफल बनाउन सहयोग गर्ने सम्बन्धित संघसंस्था तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै सार्वजनिक हितका योजनामा सबैको सहकार्य आवश्यक रहेको बताए।
