
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकलाई सबल र आत्मनिर्भर राष्ट्र बनाउनु नै गणतन्त्रको वास्तविक कार्यभार भएको बताएका छन् । गणतन्त्र दिवसको पावन अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक कामना व्यक्त गरेका हुन् ।
नेपालमा संघीय शासन व्यवस्था अभ्यासको ८ वर्ष पूरा भएको स्मरण गराउँदै उनले संघ, प्रदेश र स्थानीय तहको त्रिपक्षीय सहकार्य र समन्वयबाट यो व्यवस्थालाई थप संस्थागत गर्ने काम जारी रहेको उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सुशासन र पारदर्शितालाई सुदृढ गर्न प्रतिबद्ध रहेको दाबी गरे । जनअपेक्षा अनुसारका काम गर्ने प्रयास भइरहेको बताउँदै उनले भने, ‘सकारात्मक सोच र सामूहिक प्रयत्नबाट मात्रै हाम्रा समस्याहरूको दीर्घकालीन समाधान सम्भव छ । विकास र आत्मविश्वासका साथ अघि बढ्नु नै आजको मुख्य आवश्यकता हो ।’
गत भदौ २३ र २४ गतेका ध्वंसात्मक घटनातर्फ संकेत गर्दै मुख्यमन्त्री पाण्डेले यस्ता उच्छृङ्खल कार्यबाट तत्काल कुनै परिवर्तन सम्भव नहुने प्रस्ट पारे । उनले यो लक्ष्य पूरा गर्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम जनसमुदायसँग सहयोगको अपिलसमेत गरे । शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र खानेपानी जस्ता नागरिकका आधारभूत अधिकार कार्यान्वयन गर्न गणतन्त्र दिवसले थप उत्साह र उर्जा थप्ने उनको विश्वास छ ।
यस ऐतिहासिक दिवसले राष्ट्रिय एकता र सार्वभौमिकतालाई अझ बलियो बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
साथै, विभिन्न आन्दोलनका क्रममा बेपत्ता, घाइते र अपांगता भएका नागरिकहरूको योगदानको उच्च सम्मान गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
