
पोखरा । यूआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौँ स्थापना दिवस एवं १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार पोखराको शिशुवामा निःशुल्क रक्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
यूआरएल फाउन्डेसनको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल) मुख्य कार्यालय गिरी कम्प्लेक्सको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ६ सय १ जना नागरिकको निःशुल्क रगत जाँच गरिएको छ ।
शिविरमा मुख्य गरी मधुमेह (सुगर) तथा थाइराइडसम्बन्धी रगत जाँच निःशुल्क गरिएको थियो भने अन्य सबै प्रकारका ल्याब परीक्षणमा विशेष छुटको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा. प्रकाश भट्टराईले मधुमेह र थाइराइड जस्ता रोगहरू लाग्नुका कारण, लक्षण र यसबाट बच्ने उपायहरूका बारेमा प्रकाश पारेका थिए ।
त्यस्तै, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप भट्टराई र मणिपाल शिक्षण अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विभा महतोले पनि सहभागीहरूलाई विभिन्न रोग र तिनको पहिचानबारे सचेत गराएका थिए ।
शिविरमा रगत जम्मा गरिएकाहरूलाई आवश्यक परामर्शसहित आगामी मंगलबार र बुधबार रिपोर्ट वितरण गरिने यूआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले गुणस्तरीय स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्व वहन गर्नु संस्थाको मुख्य पहिचान रहेको बताए ।
“हामीले व्यावसायिक सेवासँगै सामाजिक दायित्वलाई पनि सँगसँगै अगाडि बढाएका छौँ,“ अध्यक्ष पन्तले भने, “राजधानी बाहिरको पहिलो रेफरेन्स ल्याबका रूपमा यूआरएलले गण्डकी प्रदेशका सबै नागरिकमाझ गुणस्तरीय सेवा पु¥याउने लक्ष्य राखेको छ ।“
यूआरएलले विभिन्न संघ-संस्थासँगको सहकार्यमा आयोजना गरेको यो २ सय २५ औँ स्वास्थ्य शिविर हो । आगामी दिनमा पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखासँग सहकार्य गरी पोखराका थप पाँच स्थानमा यस्तै शिविरहरू आयोजना गर्ने तयारी भइरहेको यूआरएलका सञ्चालक मणि न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरी र लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले बोल्दै नागरिकको सहज र सुलभ स्वास्थ्य सेवा पाउने मौलिक हक कार्यान्वयन गर्न राज्यका निकायबाहेक निजी क्षेत्रबाट गरिने यस्ता सामाजिक प्रयासहरू सराहनीय र जरुरी रहेको धारणा राखे ।
अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसार आइएसओ प्रमाणपत्र प्राप्त यूआरएलले हाल गण्डकी प्रदेशका विभिन्न जिल्लाका २४ स्थानबाट आफ्नो उच्चस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।
