अब रातो नम्बर प्लेटका बाइक-स्कुटरले राइड सेयरिङ गर्न नपाउने

241
0
Share:

काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनका लागि नयाँ व्यवस्था लागू गरेको छ। अब रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाउने भएका छन्।

सरकारले ल्याएको नयाँ आर्थिक ऐनअनुसार अब दुईपाङ्ग्रे सवारी साधनलाई पनि भाडाका सवारी साधनका रूपमा दर्ता गर्ने व्यवस्था गरिएको हो। यस्तो दर्ता भएका सवारी साधनलाई कालो नम्बर प्लेट प्रदान गरिने व्यवस्था यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख छ।

हालसम्म पठाओ, इनड्राइभलगायतका राइड सेयरिङ सेवामा अधिकांश रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटर प्रयोग हुँदै आएका छन्। नयाँ व्यवस्थासँगै अब राइड सेयरिङमा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई अनिवार्य रूपमा कालो नम्बर प्लेटमा दर्ता गर्नुपर्नेछ।

सरकारले यस्ता सवारी साधनका लागि वार्षिक आयकर तिर्नुपर्ने व्यवस्था पनि गरेको छ। हालका लागि यो कर ३ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, राइड सेयरिङबाट प्राप्त हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर लगाउने व्यवस्था पनि सरकारले अघि सारेको छ।

सरकारका अनुसार राइड सेयरिङ सेवालाई औपचारिक तथा कानुनी दायरामा ल्याउने, कर प्रणाली व्यवस्थित गर्ने तथा सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यो नयाँ नीति लागू गरिएको हो।

कमेन्ट गर्नुहोस्
Share: