जानकी माविको अटिजम कक्षालाई विरौटा सहकारीको शैक्षिक सामग्री सहयोग

Share:

पोखरा । पोखरा, विरौटा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा-१७ ले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी माध्यमिक विद्यालयमा सञ्चालित अटिजम स्रोत कक्षालाई शैक्षिक सामग्री सहयोग गरेको छ।

सहकारीले करिब १५ हजार रुपैयाँ बराबरका मादल, मञ्जिरा, वासुरी, खेलकुद तथा सिकाइ सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो। अटिजम स्रोत कक्षा भवनमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष टिका प्रसाद पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई उक्त सामग्री हस्तान्तरण गरे।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगीले पछिल्लो समय अटिजम समस्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै महानगरले पहिलो पटक जानकी माविमा अटिजम स्रोत कक्षा सञ्चालन गरेको जानकारी दिइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन कडेल, सहकारीका उपाध्यक्ष ध्रुव अधिकारी तथा स्रोत कक्षा इन्चार्ज कमल आचार्यले अटिजम स्रोत कक्षाको महत्व र यसले बालबालिकाको विकासमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए।

सोही अवसरमा बेलायती नागरिक डा. आनाडफी र हाना स्कीलले सेन्सरी सामग्री, ट्याक्टाइल खेल सामग्री, बल, जग लगायत करिब २० हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराएका थिए।

२०८२ साल भदौदेखि सञ्चालनमा आएको उक्त स्रोत कक्षामा हाल ४० जना अटिजम भएका बालबालिका अध्ययनरत छन्। कक्षामा शिक्षक, थेरापिस्ट, सहजकर्ता, आया तथा सहयोगी गरी ११ जना कर्मचारी कार्यरत छन्। विद्यालयका अनुसार अटिजम भएका ११४ जना बालबालिकाको आवेदन परेको छ।

कमेन्ट गर्नुहोस्
Share: