
पोखरा । कुमुदिनी होम्स माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार प्राथमिक तह स्तरीय अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ।
अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा लालीगुराँस सदनका शिर्षा परियार, आकृशा जोशी, इभाना रन्जित र हिमानी पाठकको समूह प्रथम भएको विद्यालयले जनाएको छ।
त्यसैगरी डाँफे सदनका इभा जिसी, बिक्रम नेपाली, स्विष्का कर्माचार्य र डेनिश शर्माको समूह द्वितीय भएका छन्।
प्रतियोगितामा शिक्षिका रोशनी श्रेष्ठ र कमला खनालले सहजीकरणको भूमिका निर्वाह गरेका थिए। साथै रजनी गुरुङले अङ्कनकर्ता, ममता गुरुङले समयपालक तथा शिक्षक भुवन गुरुङले प्राविधिक सहयोग प्रदान गरेका थिए।
यसैबीच, विद्यालयले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरेको छ।
गण्डकी प्रदेश स्काउट भवन परिसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुली, वडा सदस्य प्रकाश कोइराला, विद्यालय सञ्चालक समिति अध्यक्ष अशोक पालिखे तथा विद्यालयमा सञ्चालित आर.यू. क्लबमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष पराजुलीले वातावरण संरक्षणमा विद्यार्थीहरूको सक्रिय सहभागिता स्वच्छ र दिगो भविष्य निर्माणका लागि सकारात्मक पक्ष भएको बताए।
उनले रोपिएका बिरुवाको संरक्षण गर्ने जिम्मेवारी वडाको समेत रहने उल्लेख गरेको शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।
विद्यालयले यस्ता शैक्षिक तथा वातावरणीय गतिविधिले विद्यार्थीहरूमा भाषा सीप, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
