पोखरा बसपार्कका स्थानीय आफैले खाली गर्न थाले घर-टहरा

Share:

पोखरा । पोखरा महानगरपालिकास्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन्।

महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको १५ दिने सूचनाको समयसीमा यही आइतबार सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफैं हटाउन सुरू गरेका हुन्।

व्यवस्थित बसपार्क निर्माणको योजनालाई सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्।

विगतमा १ लाख ५० हजार रुपैयाँमा लालपुर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बसपार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन्।

बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन गरिएको छ।

पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शंकरराज बरालको अध्यक्षतामा जेठ १३ गते गठित समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

कमेन्ट गर्नुहोस्
Share: