बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नरोकी अघि बढेको बस कारवाहीमा

Share:

पोखरा । बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बस नरोकी अघि बढेको सार्वजनिक यातायातको सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार पोखरा महानगरपालिका-३२, लेखनाथ क्षेत्रमा एक जना बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक बस रोक्न खोज्दा चालकले बस नरोकी अघि बढेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियोमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो ।

घटनाप्रति जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएपछि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीमा पठाइएको थियो ।

अनुसन्धानका क्रममा ग २ ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

साथै, भविष्यमा फरक क्षमता भएका व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिने सहमति गराई चालक तथा सम्बन्धित पक्षलाई सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक यातायात सञ्चालनका क्रममा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकप्रति संवेदनशील र जिम्मेवार बन्न सबै चालक तथा सहचालकलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: