पोखराका निःशुल्क स्वास्थ्य शिविरमा हजारौंको आकर्षण, चार स्थानमा १७ सय बढीले लिए सेवा

Share:

पोखरा । पोखरा महानगरपालिकाले सञ्चालन गरिरहेको निःशुल्क वृहत स्वास्थ्य शिविरप्रति नागरिकको उत्साहजनक सहभागिता देखिएको छ। महानगरका चार स्थानमा सम्पन्न शिविरबाट हालसम्म एक हजार सात सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।

आइतबार पोखरा-५ स्थित अम्बिका माध्यमिक विद्यालय, सुइँखेतमा आयोजित शिविरमा ४६५ जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरमा १४८ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो भने १२७ जनाको रगतमा चिनी (आरबीएस), ५० जनाको थाइराइड (टीएसएच), २० जनाको ट्राइग्लिसराइड (टीजी), ६५ जनाको युरिक एसिड तथा ७२ जनाको पिसाब परीक्षण गरिएको थियो।

आँखा परीक्षणतर्फ २६९ जनाले सेवा लिएका थिए। परीक्षणपछि ३५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ। यसअघि शनिबार पोखरा-२३ स्थित सिद्ध वराह माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा ५२३ जनाले सेवा लिएका थिए। त्यहाँ ३३२ जनाको आँखा परीक्षण र २१० जनाको प्रयोगशाला परीक्षण गरिएको थियो।

स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यका अनुसार समुदायस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। “नागरिकको स्वास्थ्य पहुँच विस्तार र स्वास्थ्य प्रवर्द्धनमा यस्ता कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरेका छौं,” उनले भने।

महाशाखाले यसअघि पोखरा-२१ द्वार र पोखरा-३२ तल्लो गगनगौंडामा पनि शिविर सञ्चालन गरिसकेको छ। ती शिविरमा क्रमशः २१७ र ५२७ जनाले सेवा लिएका थिए।

महानगरले सञ्चालन गरिरहेको पाँचवटामध्ये अन्तिम शिविर असार ३० गते पोखरा-२० आँटीघर, मौजामा आयोजना गर्ने तयारी गरेको छ। शिविरमा प्रयोगशाला परीक्षणका लागि युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल) र आँखा परीक्षणका लागि दृष्टि आँखा अस्पतालले सहकार्य गरिरहेका छन्।

यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थासँगको सहकार्यमा हालसम्म २३० औँ स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए। गण्डकी प्रदेशका २४ स्थानबाट सेवा प्रवाह गरिरहेको यूआरएलले सर्वसुलभ स्वास्थ्य सेवा विस्तारमा योगदान पुर्‍याइरहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: