पोखरामा शान्ति निकेतनको नयाँ फड्को: कक्षा ११ सुरु, पहिलो वर्षमै १२० विद्यार्थी भर्ना

Share:

पोखरा। एसइईमा वर्षेनी उत्कृष्ट नतिजा दिँदै आएको शान्ति निकेतन स्कुलले यस शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन औपचारिक रूपमा सुरु गरेको छ। विज्ञान र व्यवस्थापन संकायमा अध्यापन प्रारम्भ गरेको विद्यालयले पहिलो वर्षमै लक्ष्यअनुसार १२० विद्यार्थी भर्ना गर्न सफल भएको छ।

पोखरा-५, पस्र्याङमा अत्याधुनिक सुविधासहितको नयाँ भवन निर्माण गरी उच्च माध्यमिक तह सञ्चालनमा ल्याएको विद्यालयमा विज्ञानतर्फ ८० र व्यवस्थापनतर्फ ४० सिट निर्धारण गरिएको थियो। विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीका अनुसार उच्चतम् ४ जीपीए प्राप्त गरेका विद्यार्थीसमेत भर्ना भएका छन्।

नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रममार्फत सपथ गराइएको अवसरमा प्रमुख अतिथि प्रा. डा. भरत बहादुर खत्रीले जीवनमा स्पष्ट लक्ष्य निर्धारण, इमान्दारिता र निरन्तर मेहनत नै सफलताको मूल मन्त्र भएको बताए।

“जुनसुकै विषय रोजे पनि त्यसमा उत्कृष्ट बन्न सके सफलता सुनिश्चित हुन्छ,” उनले विद्यार्थीलाई प्रेरित गर्दै भने। पोखरा महानगरपालिका का वरिष्ठ अधिकृत सोम भण्डारीले शान्ति निकेतनले एसइईसम्म हासिल गरेको उत्कृष्टता कक्षा ११ र १२ मा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे। उनका अनुसार विद्यालय पोखराका उत्कृष्ट नतिजा दिने संस्थामध्ये अग्रणी स्थानमा छ।

विद्यालयका बोर्ड अफ डाइरेक्टर किरण सापकोटाले पहिलो ब्याचका विद्यार्थीलाई विशेष अवसरको रूपमा लिन आग्रह गर्दै दुई वर्षको अध्ययनकालमा पूर्ण समर्पणका साथ मेहनत गर्न प्रेरित गरे।

साथै, उनले आफू नेतृत्व गरिरहेको प्रतिभा माध्यमिक विद्यालय र शान्ति निकेतन ‘जोइन्ट भेन्चर’ का रूपमा अघि बढिरहेको बताउँदै दुवै संस्थामा समान गुणस्तरको शिक्षा, साझा शैक्षिक गतिविधि र अनुभवी शिक्षकहरूको साथ रहने स्पष्ट पारे।

अभिभावकका तर्फबाट नरेशप्रसाद बरालले शान्ति निकेतनको निरन्तर उत्कृष्ट एसइई नतिजाले प्रभावित भएर आफ्नी छोरीलाई यही विद्यालयमा भर्ना गरेको बताए।

विद्यालयबाटै एसइईमा ४ जीपीए ल्याएका विद्यार्थी सखिम भण्डारीले विद्यालयको शैक्षिक वातावरण, शिक्षकको प्रेरणा र नयाँ सुविधासम्पन्न पूर्वाधारका कारण अध्ययनलाई निरन्तरता दिएको बताए। उनलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो।

यस्तै, १३ वर्षकै उमेरमा एसइईमा उत्कृष्ट नतिजा हासिल गरेका पर्वतका विद्यार्थी विवेक शर्मा पनि विज्ञान संकायमा भर्ना भएका छन्। कार्यक्रमको आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको सांगीतिक प्रस्तुति रहेको थियो। उनले आफ्ना लोकप्रिय गीतमार्फत विद्यार्थी र अभिभावकलाई भरपूर मनोरञ्जन प्रदान गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहप्राचार्य यदुविलास भुत्र्याल ले स्वागत मन्तव्य र परीक्षा विभाग प्रमुख हेम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।

पहिलो वर्षमै उल्लेखनीय विद्यार्थी आकर्षित गर्दै कक्षा ११ सञ्चालनमा ल्याएको शान्ति निकेतन स्कुलले अब पोखराको उच्च माध्यमिक शिक्षामा पनि आफ्नो प्रभावशाली उपस्थिति दर्ज गराउने संकेत दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: