
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्रीलाई सरकारमा समेटेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधन गुरुङ र आविष्कारक महावीर पुन ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
संविधानको धारा ८० बमोजिम सम्पन्न शपथ ग्रहणपछि गुरुङले पुनः गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् भने पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा प्रवेश गरेका छन्।
सुधनको पुनरागमन
गृहमन्त्रीका रूपमा सुधन गुरुङको यो दोस्रो कार्यकाल हो। यसअघि २०८२ चैत १३ गते गृहमन्त्री बनेका उनले व्यापारी दीपक भट्टसँगको सेयर लगानीसम्बन्धी विवादपछि २०८३ वैशाख ९ गते नैतिक जिम्मेवारी स्वीकार्दै राजीनामा दिएका थिए।
उनीमाथिको आरोपबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले सफाइयुक्त प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले त्यसलाई ग्रहण गर्दै गुरुङलाई पुनः गृह प्रशासनको जिम्मेवारी दिएको हो।
सरकारमा महावीर पुनको नयाँ अध्याय
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका महावीर पुन नेपालमा नवप्रवर्तन, अनुसन्धान र प्रविधि विकासका क्षेत्रमा परिचित नाम हुन्। नेपाल आविष्कार केन्द्रका संस्थापक पुनले यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको भूमिका निर्वाह गरेका थिए।
आविष्कार र प्रविधिमार्फत विकासको नयाँ मोडल अघि सार्ने पहिचान बनाएका पुन अब मन्त्रालयमार्फत अनुसन्धान, नवप्रवर्तन र प्रविधि-आधारित विकासका कार्यक्रमलाई गति दिने अपेक्षा गरिएको छ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत राज्यका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी मन्त्रीपरिषद्का सदस्यहरू, सुरक्षा निकायका प्रमुखहरू, संवैधानिक निकायका पदाधिकारी तथा विभिन्न राजनीतिक दलका नेताहरू पनि समारोहमा सहभागी भएका थिए।
एकातर्फ विवादमुक्त भएर पुनः जिम्मेवारीमा फर्किएका सुधन गुरुङ र अर्कोतर्फ प्रविधि तथा नवप्रवर्तनका अभियन्ता महावीर पुनको सरकार प्रवेशले प्रधानमन्त्री शाह नेतृत्वको मन्त्रिपरिषद्लाई नयाँ ऊर्जा मिल्ने अपेक्षा गरिएको छ। गृह प्रशासनको प्रभावकारी सञ्चालन र नवप्रवर्तनमैत्री नीतिको कार्यान्वयन अब यी दुई मन्त्रीका प्रमुख परीक्षा बन्नेछन्।
