कास्की क्रिकेटको जिम्मेवारी दीपेन्द्रलाई

Share:

पोखरा । कास्की जिल्ला क्रिकेट संघको नेतृत्व दीपेन्द्रप्रताप चन्दले सम्हालेका छन् । पोखरामा शनिबार भएको चौथो अधिवेशनमा भएको मतदानबाट उनी ४ वर्षका कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।

चन्दले प्रतिस्पर्धी दीपेश खत्रीलाई १३ मतले पछि पारे । कुल ७२ मतदातामध्ये ६७ जनाले मतदान गरेका थिए । चन्दले ४० मत प्राप्त गरे भने खत्रीले २७ मत ल्याए ।

यसअघि संघको उपाध्यक्ष रहेका चन्दले अबको चार वर्ष जिल्लाको क्रिकेट विकासको नेतृत्व गर्नेछन् । निर्वाचनबाट उपाध्यक्षमा चन्द्रप्रसाद गुरुङ ‘जिम्मी’ निर्वाचित भए ।

यस्तै सचिवमा विजय राउत र कोषाध्यक्षमा दुर्गाबहादुर चन्द चुनिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को विधान अनुसार अब बन्ने १५ सदस्यीय कार्यसमितिमा ४ पदाधिकारी र ११ सदस्य रहनेछन् ।

अधिवेशनका क्रममा संघको ३० वर्षे इतिहास समेटिएको स्मारिका सार्वजनिक गरियो । ‘कास्की क्रिकेट स् हाम्रो इतिहास, हाम्रो गौरव’ नाम दिइएको उक्त पुस्तक विजय नेपालले सम्पादन गरेका हुन् ।

सोही अवसरमा कास्कीको तर्फबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरियो । २०५४ साल माघ १९ गते प्राडा वीरेन्द्रसिंह गुरुङको नेतृत्वमा यो संघ स्थापना भएको हो । यसअघि देवेन्द्र प्रजू र सञ्जय कान्त सिग्देलले संघको नेतृत्व सम्हालिसकेका छन् ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले क्रिकेटको प्रवर्धनमा संघले गरेको कामको प्रशंसा गरे । क्यानका केन्द्रीय सदस्य सुदीप शर्माले पोखरा क्रिकेटको केन्द्र बन्दै गएको बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य रवीन्द्रबहादुर प्रजूले खेलाडीको क्षमता विकासमा ध्यान दिन नयाँ कार्यसमितिलाई सुझाव दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलकबहादुर अधिकारीले खेलकुदको विकासका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

निवर्तमान अध्यक्ष सञ्जय कान्त सिग्देलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अधिवेशनको उद्घाटन सत्रको सञ्चालन नवनिर्वाचित अध्यक्ष दीपेन्द्रप्रताप चन्दले गरेका थिए । नयाँ कार्यसमितिले कास्कीमा क्रिकेट खेलको भौतिक पूर्वाधार र प्रतियोगितालाई प्राथमिकता दिने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: