
पोखरा । किशोर-किशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल परिवार नियोजन संघ कास्कीले सञ्चालन गर्दै आएको अभियान अन्तर्गत बिहीबार पोखरा महानगरपालिका-१२ स्थित अमरसिंह नमूना माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कास्कीका २४ वटा विद्यालय तथा कलेजमा सञ्चालन गर्ने लक्ष्यसहित गत भदौ १७ गतेदेखि सुरु गरिएको अभियानको यो २१औँ कार्यक्रम रहेको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए। कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नं. १२ कार्यालयले सहयोग गरेको थियो।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका-१२ की कार्यवाहक वडा अध्यक्ष शान्ति कोइरालाले गर्दै किशोर–किशोरीलाई सही उमेरमै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी आवश्यक रहेको बताइन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला तथा प्रधानाध्यापक बलराम पोखरेलले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच र व्यवहार विकास गर्न सहयोग पुग्ने धारणा राखे।
सहजीकरणका क्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु दाहाल, युवा संयोजक कृशा सिग्देल, वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, स्टाफ नर्स अनुषा भुजेल तथा कर्मचारी सुरज चौधरीले यौन तथा प्रजनन स्वास्थ्य, किशोरावस्था, सुरक्षित व्यवहार र स्वास्थ्य सचेतनासम्बन्धी विषयमा जानकारी गराएका थिए।
युवा संयोजक कृशा सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापति नवीन सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए। अभियान अन्तर्गत आगामी दिनमा पनि जिल्लाका विभिन्न विद्यालय तथा कलेजमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
