४० दिनमै सार्वजनिक भयो कक्षा १२ को नतिजा, उत्तीर्ण दरमा उल्लेख्य सुधार

Share:

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक गर्दै नयाँ रेकर्ड कायम गरेको छ। गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा असार ५ गते सार्वजनिक गरिएको हो। छोटो अवधिमै नतिजा प्रकाशन हुनु नेपाली शैक्षिक इतिहासमै सम्भवतः पहिलो घटना मानिएको छ।

यस वर्षको नतिजाअनुसार कुल ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्दै स्नातक तह अध्ययनका लागि योग्यता हासिल गरेका छन्। गत वर्ष नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएकोमा यस वर्ष उक्त दर ८.५८ प्रतिशत बिन्दुले बढेको छ, जसले कक्षा १२ को नतिजामा उल्लेखनीय सुधार देखिएको संकेत गर्छ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजामा आएको सुधारलाई शिक्षक र विद्यार्थीको मेहनतको प्रतिफलका रूपमा व्याख्या गरेको छ। बोर्डका अनुसार प्रभावकारी अध्यापन र विद्यार्थीको अध्ययनप्रतिको प्रतिबद्धताले सकारात्मक परिणाम दिएको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आन्तरिक तयारी र व्यवस्थापनका कारण छोटो समयमै नतिजा प्रकाशन सम्भव भएको बताए।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विगतको तुलनामा छिटो नतिजा सार्वजनिक हुनुलाई शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले समयमै नतिजा प्रकाशन हुनु सरकारको सुशासनप्रतिको प्रतिबद्धताको उदाहरण भएको र यसले शैक्षिक क्यालेन्डरलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी थिए। परीक्षामा ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजाअनुसार २ लाख ६८ हजार १९० विद्यार्थी ग्रेडेड भएका छन्।

जीपीए वितरण हेर्दा सबैभन्दा धेरै ९४ हजार २४९ विद्यार्थीले २.८१ देखि ३.२० सम्म जीपीए प्राप्त गरेका छन्। यस्तै १७ हजार ७८६ विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको उत्कृष्ट जीपीए हासिल गरेका छन् भने ६४ हजार ८२१ विद्यार्थीले ३.२१ देखि ३.६० सम्म जीपीए प्राप्त गरेका छन्। बोर्डका अनुसार उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या पछिल्ला वर्षहरूको तुलनामा निरन्तर बढ्दै गएको छ।

पछिल्लो पाँच वर्षको नतिजा विश्लेषण गर्दा कक्षा १२ को उत्तीर्ण दर क्रमिक रूपमा सुधार हुँदै गएको देखिन्छ। २०७९ सालमा ४८.१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएकोमा २०८३ सालमा यो दर बढेर ६४.१३ प्रतिशत पुगेको छ। त्यस्तै ३.६१ देखि ४.०० सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या पनि २०७९ मा ४ हजार १७९ रहेकोमा यस वर्ष १७ हजार ७८६ पुगेको छ।

नतिजाको सुधार, उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको बढ्दो संख्या र समयमै नतिजा प्रकाशनले नेपालको विद्यालय शिक्षा प्रणालीमा सकारात्मक परिवर्तनको संकेत गरेको बोर्डको निष्कर्ष छ।

कमेन्ट गर्नुहोस्
Share: