
पोखरा । स्थानीय तहमा रोजगारीको अवस्था मूल्याङ्कन गर्दै आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघमा ‘रोजगार संवाद मञ्च’ कार्यक्रम सम्पन्न भएको छ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत युवा तथा रोजगार शाखाको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित कार्यक्रममा स्थानीयस्तरमा रोजगारीका अवसर पहिचान, सीप विकास तथा रोजगार सिर्जनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले स्थानीय स्तरमा आयआर्जन र रोजगारीका क्षेत्र पहिचान गरी प्रभावकारी कार्यान्वयनका लागि मञ्चले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
उनले बेरोजगार युवाहरूलाई रोजगार सेवा केन्द्रमार्फत सूचीकृत गरी उद्योगी–व्यवसायीसँग समन्वय गरेर रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्।
त्यस्तै, स्थानीय निकायले आधुनिक प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्दै घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने र बजारीकरणलगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
कार्यक्रममा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले अबको समय आर्थिक विकासको चरण भएकाले उत्पादन वृद्धि अपरिहार्य रहेको बताए।
उत्पादन वृद्धि गर्न दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै उनले सीपमूलक तालिममा लगानी बढाउनुपर्ने धारणा राखे।
उनले प्रत्येक नागरिकलाई सीपयुक्त बनाउने लक्ष्यसहित व्यापक तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने र श्रमलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। साथै, पोखरा महानगरपालिकाले आगामी असार १९ गते आयोजना गर्ने रोजगार मेलामा सहभागी हुन सबैलाई आग्रह गरे।
कार्यक्रममा युवा तथा रोजगार मन्त्रालयका शाखा अधिकृत नवराज सुवेदी तथा पोखरा महानगरपालिका युवा तथा रोजगार शाखाका प्रमुख विष्णु प्रसाद दाहालले कार्यपत्र प्रस्तुत गर्दै रोजगार प्रवर्द्धनका विभिन्न पक्षबारे प्रकाश पारेका थिए।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यसमिति सदस्य वीरेन्द्रराज भुर्तेलले गरेका थिए।
सिलाई कटाई तथा प्लम्बिङ तालिम सम्पन्न
यसैबीच, लेखनाथ उद्योग वाणिज्य संघमा तीन महिने (३९० घण्टे) सिलाई कटाई तथा प्लम्बिङ तालिमको समापन गरिएको छ।
गण्डकी प्रदेश सरकारअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजना तथा संघको समन्वयमा सञ्चालन गरिएको तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
समापन कार्यक्रममा सीप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख अनिल सुवेदीले तालिमबाट हासिल गरेको सीपलाई व्यवहारमा लागू गरी आत्मनिर्भर तथा उद्यमशील बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे।
कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं तालिम उपसमिति संयोजक सुजन न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए।
