
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र प्राविधिक कारणले एक दिन ढिला गरी मंगलबारदेखि सुरु हुँदैछ। प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा परिचयपत्र छपाइ कार्य समयमै सम्पन्न हुन नसकेपछि सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित गरिएको थियो।
बन्दसत्रलाई व्यवस्थित र विवादरहित बनाउन आज बिहान ७ बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु गरिएको छ। सातवटै प्रदेश, समायोजन तथा प्रवास समितिका लागि छुट्टाछुट्टै काउन्टर स्थापना गरी परिचयपत्र वितरण भइरहेको पार्टीले जनाएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले महाधिवेशन पार्टीको सर्वोच्च र संवेदनशील निकाय भएकाले कुनै पनि प्राविधिक त्रुटि वा विवाद हुन नदिन प्रतिनिधिहरूको विवरण पूर्ण रूपमा दुरुस्त बनाएर मात्र बन्दसत्र सञ्चालन गर्ने निर्णय गरिएको बताए।
उनका अनुसार सोमबार साँझदेखि परिचयपत्र वितरणको तयारी तीव्र बनाइएको थियो भने रातभर छपाइ कार्य सम्पन्न गरी मंगलबार बिहानदेखि वितरण सुरु गरिएको हो।
महाधिवेशनको कार्यतालिकाअनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका प्रमुख रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफल भएपछि अनुमोदन गरिनेछ।
त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। आर्थिक प्रतिवेदनमाथिको छलफल सम्पन्न भएपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको सांगठनिक प्रतिवेदन बन्दसत्रमा पेश गर्नेछन्।
यसैगरी सहमहामन्त्रीले परिमार्जित विधान प्रस्तुत गर्नेछन्, जसमा छलफल गरी अनुमोदन गरिने कार्यसूची छ। विधान पारित भएपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल गरी बन्दसत्रबाट पारित गरिनेछ।
राजनीतिक प्रतिवेदन अनुमोदन भएपछि सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने र हालको आयोजक समितिले आफ्नो जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित कार्यक्रम रहेको छ।
त्यसपछि निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया र तालिका सार्वजनिक गर्नेछ। गत आइतबार चितवनको गेष्टहाउस चौरमा भव्य उद्घाटन भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र भने नारायणगढस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।
