मादी गाउँपालिकाले ल्यायो ६५ करोडभन्दा बढीको बजेट, पूर्वाधार र दायित्व व्यवस्थापनमा जोड

Share:

पोखरा । कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

सोमबार सम्पन्न गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले बजेट प्रस्तुत गर्दै विकास निर्माण, सेवा प्रवाह तथा पुराना योजनाको दायित्व व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।

विनियोजित कुल बजेटमध्ये १८ करोड १४ लाख ९० हजार रुपैयाँ पूँजीगततर्फ तथा ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ चालु खर्चतर्फ छुट्याइएको छ।

तालिम, अनुदान तथा क्षमता विकासजस्ता पूँजी निर्माणमा सहयोग पुग्ने कार्यक्रमहरूलाई सरकारी मापदण्डअनुसार चालु खर्चमा समावेश गरिएको उपाध्यक्ष गुरुङले बताइन्। साथै, संघीय सरकारबाट प्राप्त २७ करोड १८ लाख रुपैयाँ सशर्त अनुदान पनि चालु खर्चअन्तर्गत समेटिएको छ।

बजेटका लागि स्रोत व्यवस्थापनतर्फ संघीय सरकारको समानीकरण अनुदानबाट १० करोड २६ लाख रुपैयाँ, सशर्त अनुदानबाट २८ करोड २१ लाख रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ११ करोड ८२ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, गाउँपालिकाले आन्तरिक आयबाट १ करोड ११ लाख ९६ हजार ४ सय २४ रुपैयाँ, रोयल्टीबाट २ करोड ६० लाख रुपैयाँ तथा चालु आर्थिक वर्षको मौज्दातबाट ६ करोड ३१ लाख २० हजार रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएको छ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष गुरुङले उपलब्ध स्रोत र आवश्यकताबीच सन्तुलन कायम गर्न चुनौतीपूर्ण रहेको बताइन्। गाउँपालिकाले विगतमा सञ्चालन गरेका केही महत्वाकांक्षी तथा बहुवर्षीय योजनाहरूको भुक्तानी र दायित्व व्यवस्थापन गर्नुपर्ने भएकाले आम्दानीको तुलनामा खर्चको दबाब बढेको उनको भनाइ थियो।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका अधुरा आयोजना सम्पन्न गर्ने, आधारभूत सेवा सुदृढ गर्ने तथा आर्थिक विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: