रास्वपा महाधिवेशनमा पदाधिकारीका लागि कडा प्रतिस्पर्धा, उपसभापतिमा स्वर्णिमसहित चार दाबेदार, महामन्त्रीमा ८ जनाको दौड

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनको निर्वाचन रोमाञ्चक बन्दै गएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि प्रभावशाली नेताहरूले उम्मेदवारी घोषणा गरेपछि पार्टीभित्र तीव्र प्रतिस्पर्धाको माहोल बनेको हो।

लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावक नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ रहेका छन्। यसअघि श्रेष्ठ स्वयं पनि उपसभापतिको आकांक्षी मानिएका थिए।

उपसभापतिको दौडमा पूर्वउपसभामुख तथा सांसद इन्दिरा रानामगर, सांसद डा. तोसिमा कार्की र सांसद सोविता गौतम पनि मैदानमा उत्रिएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले आफू उपसभापतिमा उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

महामन्त्री पदमा पनि प्रतिस्पर्धा निकै रोचक देखिएको छ। रन्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् भने प्रमोद न्यौपाने र राजुनाथ पाण्डे पनि प्रतिस्पर्धामा उत्रिने भएका छन्। यसअघि वर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटी, शिशिर खनाल, मनिष झा, गणेश कार्की, गणेश पराजुली, विपीन आचार्य र रन्जु दर्शनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। यससँगै महामन्त्री पदका लागि कम्तीमा आठ जना नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ।

सहमहामन्त्री पदमा पनि चुनावी सरगर्मी बढेको छ। नेता असिम शाहले उम्मेदवारी दिने तयारी गरेका छन्। जेनजी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह र रास्वपाबीच सहकार्यको वातावरण बनाउन भूमिका खेलेका असिम शाह हाल बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्। उनी यसअघि रास्वपाको तर्फबाट सांसदसमेत रहिसकेका छन्। सहमहामन्त्रीमै पुकार बमले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्।

पदाधिकारी चयनका लागि प्रभावशाली नेताहरू मैदानमा उत्रिएसँगै रास्वपाको प्रथम महाधिवेशनले नयाँ नेतृत्व चयनतर्फ चासो र उत्साह थप बढाएको छ।

कमेन्ट गर्नुहोस्
Share: