मतदानमै चुक्यो रास्वपा महाधिवेशन, हजारौँ प्रतिनिधि मताधिकारबाट वञ्चित

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि पदाधिकारी निर्वाचनमा प्रतिनिधिहरूको न्यून सहभागिताले निर्वाचन व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

चार हजार ३११ महाधिवेशन प्रतिनिधिमध्ये पदाधिकारी निर्वाचनमा जम्मा एक हजार २८९ जनाले मात्र मतदान गरे।

यसअघि केन्द्रीय सदस्य चयनमा भने दुई हजार ९५९ प्रतिनिधि मतदानमा सहभागी भएका थिए। अर्थात् करिब एक हजार ६७० प्रतिनिधि पदाधिकारी निर्वाचनबाट बाहिरिए ।

प्रतिनिधिहरूका अनुसार पदाधिकारी निर्वाचनमा पनि सबैले पुनः मतदान गर्नुपर्ने जानकारी पर्याप्त रूपमा नदिइएकाले धेरै जना मतदान नगरी फर्किएका थिए ।

रौतहटबाट आएका केही प्रतिनिधि साँझ ५ बजेपछि मतदानस्थल पुगे पनि मतदान अवधि सकिएको भन्दै उनीहरूलाई मत हाल्न दिइएन ।

यता, संस्थापक सभापति रवि लामिछाने सर्वसम्मत निर्वाचित भए भने खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चुनिए ।

महिलातर्फ उपसभापतिमा सोविता गौतम विजयी हुँदा महामन्त्रीमा विपीन आचार्य निर्वाचित भए । सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी विजयी भए ।

रोचक पक्ष के भने, सभापति रवि लामिछाने चितवनमै उपस्थित भए पनि पदाधिकारी निर्वाचनमा मतदान गरेनन् ।

वरिष्ठ नेता बन्ने तयारीमा रहेका प्रधानमन्त्री बालेन शाहले पनि केन्द्रीय सदस्य निर्वाचनमै सहभागी नभई काठमाडौं फर्किएका थिए ।

विद्युतीय मेसिनमार्फत सम्पन्न निर्वाचनबाट नेतृत्व चयन भए पनि हजारौं प्रतिनिधि मतदान प्रक्रियाबाट बाहिरिनु र सूचना अभावका कारण मताधिकार प्रयोग गर्न नपाउनु महाधिवेशनकै सबैभन्दा चर्चित विषय बनेको छ । यसले निर्वाचन व्यवस्थापन, सूचना प्रवाह र प्रतिनिधिहरूको सहभागिताबारे गम्भीर प्रश्न उठाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: