
पोखरा । कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । २०८२ साल भदौ २४ गते देशव्यापी रूपमा चर्किएको ’जेन्जी आन्दोलन’ को मौका छोपेर कारागारबाट भाग्न सफल भएका पोखरा महानगरपालिका वडा नं. १५ नयाँगाउँका ३३ वर्षीय नरेश गुरुङलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार (आज) बिहान करिब २ः५० बजेको समयमा इलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. ३२ मजुवास्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको ग २ ख १४११ नम्बरको सार्वजनिक बसमा सवार गुरुङ संकास्पद रूपमा फेला परेका थिए ।
प्रहरीले उनको खानतलासी गर्दा साथबाट ६ ग्राम लागू औषध ब्राउन सुगर र एउटा मोबाइल फोन बरामद गरेको छ । पक्राउ परेका गुरुङ लागू औषध मुद्दामै २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय तोकिएर कास्की कारागारमा भुक्तान गरिरहेका कैदी हुन् ।
फरार सूचीमा रहेका उनलाई पुनः लागू औषधसहित नियन्त्रणमा लिएपछि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
